देश/प्रदेश

चलचित्र कलाकारहरुद्वारा स्वतन्त्र छानबिनमार्फत् रवि लामिछानेको रिहाइको माग

Banner

काठमाडौं, भदौ ७-

नेपालका चर्चित कलाकारहरुले चितवनको प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाइको पनि माग गरे ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा कलाकारहरुले यस्तो बताएका हुन् । साक्षात्कारमा हास्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाइ हुने कामना गरे । उनले भने,‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुप¥यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानुनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’

उनले रवि लामिछानेको लागि यति धेरै समर्थन रहेको पनि सुनाए । उनले भने, ‘उहाँको पक्षमा ठूलो समर्थन छ । चासो छ । अहिले हामीले कानुन संशोधन गरेका छौं । म त कानुनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन । कानुन सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’ उनले आफू र रवि लामिछानेबीच निकै लामो मित्रता रहेको सुनाए । उनले भने, ‘मित्रताको कारणले म यहाँ आएको होइन । म सत्यको पक्षमा बोलुँ भनेर सधैं कोसिस गर्छु । रवि निर्दोष छ । म यहाँ क्लबमा आउँदै गर्दा सडकमा रविलाई रिहाइ गर भनेर अहिले पनि जाम छ । रविजीले सामान्य मानिसको आवाज उठाइदिनुभयो, त्यसैले आज न्याय पाउनुपर्छ । भोलि नजिर बस्न सक्छ, जिन्दगीबाट हारेको मान्छेले आरोप लगाएर मरिदिनसक्छ । यत्रो प्रेसर दिँदाखेरि त रविजी १० दिन बसिसक्नुभयो । कसैले कसैलाई अन्याय गरेको छ भने रविजीलाई भेट्नुपर्छ भन्ने अवस्था छ । आम मानसिले अहिले चलचित्रमा हामीले देखाउने नायक र नायकत्व रविजीमा पाउनु भएको थियो ।’

गिरीले आत्महत्या भनेको आफैंमा अपराध भएको सुनाए । ‘यो मुद्दामा भोलि न्याय हुनेछ । रविजीले भोलि न्याय पाउनुहुन्छ ।’–उनले थपे । उनले कानूनमै सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘राज्यले रविजीलाई न्याय दिनेछ । रिहाइ भएर जनताको आवाज लिएर फेरि आफ्नो कर्ममा फर्किनुहुन्छ । राज्यले पनि गम्भीर विचार गर्नुपर्छ । जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन ।’ तर, उनले भीडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको सुनाए । यद्यपि उनले हिजो राजाको शासनको पालामा भीडले परिवर्तन ल्याएको कुरा बिर्सन नहुने सम्झाए । उनले भने,‘तर, काराणसहितको भीड हुनुपर्छ ।’

अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने सुनाए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाए । उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु इमानदार हुनुपर्ने उनको भनाइ छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए । उनले अघि थपे,‘रविजी त प्रशिद्ध हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् । कानुनको व्याख्या नै गलत छन् भने कानुनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होइन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । अपराध गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’
उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । उनले भने,‘रविजीको हकमा कानुनले सही तरिकाले निर्णय होस् । सत्य, तथ्य कुरा जनताकहाँ पुगोस् । हामीले रविजीलाई साथ दिनुपर्छ । तर, यो मुद्दामा राजनीतिकरण नहोस् ।’
अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस् । बिना कुनै दबाब काम गर्न दिइयोस् । यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन ।’

उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस् भनेर प्रार्थना गर्न आग्रह गरे । तर, यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उनको भनाइ छ । उनले थपे, ‘उहाँ पनि कानुनभन्दा माथि हुनुहुन्न ।’ यद्यपि उनले हिरासतभन्दा बाहिर राखेर पनि रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए ।  उनले भने,‘उहाँलाई भयंकर अपराधिजस्तै गरेर पक्राउ गरियो । उहाँले त सुरुवातदेखि नै प्रहरी प्रशासनलाई सहयोग गर्छु भन्नुभएको थियो । तर, जे होस अब अन्तिम निर्णय अदालतको हो । रविजी भनेको आवाजविहीनको आवाज हो । उहाँले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’ कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाइ हुने विश्वास दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>