खेलकुद
‘गुरुकुल प्रोफेसनल कप फुटसल’को उपाधि डाक्टर्स टिम चितवनलाई

चितवन, मंसिर १२–
गुरुकुल माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘गुरुकुल प्रोफेसनल कप’ फुटसल प्रतियोगिताको उपाधि डाक्टर्स टिम चितवनले जितेको छ ।
शनिबार भएको प्रतियोगितामा चितवन बैंकर्स टिमलाई पराजित गर्दै डाक्टर्स टिमले उपाधि जितेको हो । बैंकर्स टिमले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा डाक्टर्स टिम चितवनका प्रेक्षण रिमालले कप्तानी गरेका थिए भने चितवन बैंकर्स टिमको नेतृत्व राजेन्द्र ढुंगानाले गरेका थिए ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो । जसअनुसार उत्कृष्ट गोलकिपरको उपाधि डाक्टर्स टिम चितवनले प्राप्त गरेको छ । त्यस्तै, सर्वाधिक गोलकर्ताको अवार्ड डाक्टर्स टिम चितवनका भुषण श्रेष्ठले हात पारेका छन् । उत्कृष्ट खेलाडीको अवार्ड भने चितवन बैंकर्स टिमका सञ्जीव बस्नेतले प्राप्त गरेका छन् ।

प्रतियोगितामा रेफ्रीको भूमिका विवेक मगर र राजेश बख्रेलले निर्वाह गरेका थिए । कार्यक्रम गुरुकुलका सञ्चालक समिति अध्यक्ष नवीन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्कीले प्रतियोगिताको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा गुरुकुलका प्राचार्य जे.एन. लामिछाने, सहप्राचार्य प्रतीक ढकाल, शैक्षिक निर्देशक सुशील रेग्मी, दिवा व्यवस्थापन कार्यक्रम संयोजक सिर्जन अविरललगायतको उपस्थिति रहेको थियो । बिहानी कार्यक्रम संयोजक तथा कार्यक्रमका संयोजक सुशील रेग्मीले कार्यक्रमको संयोजन गरेका थिए भने हरिहर भुसालले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथि, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिले प्रतियोगिताको गरिमा बढाएको थियो ।

























