हेटौँडा

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

०
Banner

हेटौँडा,मङ्सिर १२ –

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले शिक्षा क्षेत्रमा बजेट कार्यान्वयन गर्नु मात्र लक्ष्य नभई गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य उद्देश्य हुनुपर्ने बताउनुभएको छ ।
शिक्षा विकास निर्देशनालय, हेटौँडाद्वारा शुक्रबार आयोजित ‘न्यून साक्षरता भएका स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम’को अभिमुखीकरण कार्यक्रममा उहाँले अति विपन्न, पिछडिएका, सीमान्तकृत तथा लोपोन्मुख समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

“बजेटको कार्यक्रममा काम गर्नु मात्रै हाम्रो लक्ष्य होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो लक्ष्य हो”, मन्त्री तामाङले भन्नुभयो, “कार्यक्रम सम्पन्न भयो भन्नेमा मात्रै सीमित भयौँ भने अपेक्षित परिणाम आउँदैन ।”
उहाँले नेपालको भूगोल, स्रोत, जनजीवन र आवश्यकताअनुसार मौलिक तथा व्यवहारिक शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको विकाससँगै शिक्षा प्रणालीलाई पनि समयानुकूल, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

स्थानीय तह नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको सरकार भएकाले शिक्षाको गुणस्तर सुधारमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री तामाङले आधारभूत तहदेखि नै प्रभावकारी शिक्षा प्रदान गर्न सके मुलुकको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
शिक्षा विकास निर्देशनालयका निर्देशक गोपालप्रसाद कडेलको अध्यक्षतामा भएको कार्यक्रममा न्यून साक्षरता भएका स्थानीय तहमा सञ्चालन हुने शैक्षिक गुणस्तर सुधार कार्यक्रमको कार्यान्वयन, चुनौती तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>