गोरखा
धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

गोरखा, मंसिर १ –
धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु भएको छ ।
धार्चे गाउँपालिका– १ र ३ करिब ६०० घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सुचारु भएको हो । बुढीगण्डकीमा आएको बाढीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको थियो ।
नेपाल टेलिकमको टावरमा विद्युत् सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको त्यहाँका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिनुभयो । बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिवास उहिया लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि चुमनुब्री गाउँपालिका–३ र धार्चेको उहिया क्षेत्र विगत डेढ महिनादेखि विद्युत्विहीन बनेको थियो ।
उहियास्थित नेपाल टेलिकमको टावरमा विद्युत् विच्छेद हुँदा सेवा अवरुद्ध भएको थियो । विद्युत् जडान भएसँगै वरपरका गाउँबस्तीमा सञ्चार सम्पर्क सेवा सुचारु भएपछि स्थानीयबासी खुसी भएका छन् । सोमबार मात्र उहियामा विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिका–२ का वडाध्यक्ष सरोज गुरुङले बताउनुभयो ।
उत्तरी गोरखाको गाउँबस्तीमा विद्युत् सेवा दिँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा बिजुली बलेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार विद्युत् सेवा सुचारु भएपछि सञ्चार सेवा पनि सुचारु भएको हो । “उहियाको टावरबाट उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकका गाउँबस्तीमा सञ्चार सेवा सुचारु भएको छ”, गुरुङले भन्नुभयो, “त्यहाँ डेढ महिनासम्म बिजुली नबल्दा टावर चलेन । वरपरका सबै गाउँबस्तीमा बिजुली त जसोतसो बल्यो तर फोन सम्पर्क हुन सकेन ।”
धार्चे गाउँपालिकाको वडा नं १, २ र ३ मा गत असोज २५ गते बाढी गएदेखि सञ्चार सेवा ठप्प बनेकोमा सोमबारदेखि मात्र सञ्चालनमा आएको वडा नं २ का अध्यक्ष सरोज गुरुङले बताउनुभयो ।
गाउँमा सञ्चार सेवा ठप्प बन्दा वडाका काम कारबाही र स्थानीयको जनजीवनसमेत प्रभावित बनेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “आजभोलि सञ्चार र प्रविधिको जमाना छ । यो डेढ महिना गाउँमा फोन टावर नचल्दा हामी पुरानै जमानामा पुगेको जस्तो भएका थियौँ ।”
धार्चेको वडा नं १, २ र ३ का गाउँबस्तीलाई बाढीले आवतजावतसँगै सञ्चारबाट पनि वञ्चित गराएको थियो । वडा नं १ हुल्चुकको करिब २५० घरधुरी र वडा नं ३ उहियाको ३३२ घरधुरी बाढी आएको दिनदेखि अन्धकारमा जीवन गुजारा गरिरहेका थिए ।
स्थानीयले विद्यालय तथा स्वास्थ्य चौकीको सोलारबाट जसोतसो फोन चार्ज गरेपनि फोन सम्पर्क भने सुचारु हुन सकेको थिएन । फोन टावर नहुँदा गाउँलेहरु फोन सम्पर्कका लागि माथि डाँडामा धाउनुपर्ने बाध्यता थियो । उहियाको टावरमा विद्युत् नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको थियो ।
























