देश/प्रदेश
आलेखः प्रदूषित बन्दै राम्दीघाट

वालिङ (स्याङ्जा) , कात्तिक १७ –
पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा राम्दी रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमा, स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थलमा रहेको राम्दीस्थित पवित्र कालीगण्डकी तटमा शुभकार्य, पितृकार्यहरु हुने गर्छन् ।
मुक्तिनाथबाट बगेर आउने शालग्राम शिला पाइने एकमात्रै पवित्र कालीगण्डकी नदी तटमा मृत्युपछि अन्तिम दाहसंस्कार गरिँदै आएको छ । कालीगण्डकी नदीको स्याङ्जातर्फको भागमा विभिन्न भेगबाट शव लगेर दाहसंस्कार गर्ने प्रचलन छ ।
सिद्धार्थ राजमार्गसँगै जोडिएको र यातायातको सहजताले पनि अन्य घाटहरुको तुलनामा यहाँ दाहसंस्कार गर्ने सङ्ख्या बढी छ । राम्दी बजारभन्दा नजिकै रहेको कालीगण्डकी नदीमा आ–आफ्नो परम्परा, संस्कृति, धार्मिक मान्यताअनुसार शवलाई जलाउने वा पुर्ने गरिन्छ । स्याङ्जातर्फको राम्दीघाटमा गल्याङ, वालिङ, भीरकोट, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिकालगायतका ठाउँबाट यहाँ लगेर शवको दाहसंस्कार गरिन्छ । यतिका धेरै ठाउँहरुबाट शव लगेर दाहसंस्कार गरिने ठाउँमा व्यवस्थित शवदाह स्थल नहुँदा मृतकका परिवार, आफन्तजन तथा मलामीहरुले निक्कै सास्ती खेप्नुपरेको मात्र होइन, नदीको प्रदूषणलाई पनि बढाएको छ ।
नदी किनारमा व्यवस्थित शवदाहस्थल नहुँदा वर्षौंदेखि शवहरु नदी किनारमा यत्रतत्र जलाउनुपर्ने बाध्यतासँगै घाट पनि प्रदूषित हुने गरेको छ । शव जलाउने निश्चित ठाउँ भएको भए मलामीहरुले एउटै ठाउँमा शव जलाउने र सफा गर्न पनि सहज हुन्थ्यो । शवदाहस्थल नहुँदा मृतकका परिवार, आफन्त तथा मलामीहरुले सकेसम्म सफा गर्न मिल्ने ठाउँ हेरेर चिता बनाउने गरेका छन् । मलामीले नदी किनारमै दाउराको खलियो बनाएर शव जलाउँदै आएका छन् । पानी परेका बेला त झनै शव जलाउन सास्ती हुने गरेको छ । शव जलाएर बाँकी रहेका दाउरा तथा कोइला, कपडाहरुले त झनै कालीगण्डकी नदी किनारलाई दुर्गन्धित नै बनाएको छ ।
पछिल्लो समय कालीगण्डकी नदीले स्याङ्जाको गल्याङ–१ राम्दीघाटसम्म पुग्ने बाटो भत्काएपछि मलामीलाई नदी किनारमा पुग्नै सास्ती भएको छ । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले गल्याङ–१ राम्दी बजारबाट नदी किनारमा जानका लागि बनाइएको सिँढी बाटो बगाएपछि शव बोकेर मलामीलाई नदी किनारमा पुग्नै सास्ती भएको वालिङ–१३ का स्थानीय जगदीश पाठकले बताउनुभयो । नदीसम्म झर्नका लागि सिँढीहरु बनाइएको तर त्यही सिँढी पनि अहिलेको बाढीले बगाएर लगेको छ । “नदीले सिँढी कटान गरेर लगेसँगै अहिले छाँगोजस्तो बनेको छ”, उहाँले भन्नुभयो ।
राम्दीस्थित पवित्र कालीगण्डकी नदी किनारको राम्दीघाट प्रदूषित बन्दै गएको छ । यहाँ दाहसंस्कारमा प्रयोग गरिएका काठ, बाँस, कपडा, प्लाष्टिकजन्य फोहरहरु, पत्ती, कपाल व्यवस्थित गर्न नसक्दा प्रदूषित बन्दै गएको हो । नदी किनारमा शव जलाउने व्यवस्थित शवदाहस्थल नभएकाले पनि मलामीहरुले जतासुकै शव जलाउने गरेका हुन् । शव जलाइसकेपछि बाँकी रहेका काठदाउरा, लत्ताकपडा, पानीका बोतल, प्लास्टिक, आगोका कोइलाहरुले नदी र वरपरको क्षेत्र प्रदूषित बन्दै गएको हो ।
शवदाह गरिने कालीगण्डकी नदी किनारको सरसफाइको जिम्मेवारी रामनदीधाम संस्कृत गुरुकुलमले लिएको छ । “पवित्र कालीगण्डकी नदी किनारको शवदाह गर्ने स्थल गुरुकुलममार्फत कर्मचारी खटाएर सरसफाई गर्दै आइरहेका छौँ”, गुरुकुलमका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले भन्नुभयो, “एकजना कर्मचारीले निरन्तररुपमा सरसफाई गर्दै आए पनि मलामीहरुले फोहोरमैलालाई व्यवस्थित नगरिदिँदा थप समस्या भएको छ ।” शव जलाइएको स्थलमा प्रयोग गरिएका सामग्रीहरु जथाभावी नफाल्न, शवलाई पूरै जलाउन र जलाएको ठाउँमा भएका कोइला, दाउरा, बाँस तथा कपडाहरुको ब्यवस्थापनमा मलामीहरुले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
शवदाहस्थलमा आवश्यक पर्ने दाउरा गुरुकुलमले बिक्री गर्दै आएको छ । स्थानीय व्यापारीहरुसित गुरुकुलमले प्रतिचट्टा रु दुई हजार ५०० का दरले दाउरा खरिद गरी रु तीन हजारमा मलामीलाई बिक्री गर्दै आएको छ । प्रतिचट्टा दाउरा बिक्रीबाट रु ५०० गुरुकुलम सञ्चालनको खातामा जम्मा हुने गर्दछ । कालीगण्डकी नदीको किनारमा सिद्धार्थ राजमार्गसँग जोडिएको राम्दी बजारबाट निस्कने कुहिने, नकुहिने फोहरहरु पनि नदी किनारमै फालिने गरेकाले पनि नदी किनार प्रदूषित देखिएको हो ।
कालीगण्डकी नदीको किनारमा रहेका घाटहरुमा सदिऔँदेखि आ–आफ्नो परम्परा अनुसार दाहसंस्कार गरिँदै आएको छ । राम्दीमा दैनिक पाँच–सात वटासम्म शवको अन्त्येष्टि हुने गरेको प्रधानाध्यापक बस्यालले बताउनुभयो । राम्दीमा अत्येष्टिका लागि ल्याउने शवहरु जलाउनका लागि गुरुकुलमार्फत दाउरा बिक्री हुँदै आएको छ । केही समयअघि गल्याङ–१ राम्दीमा रहेका सङ्घसंस्था, कार्यालय तथा राम्दी बजारमा बस्ने स्थानीयवासीको भेलाले रातिको समयमा राम्दीमा दाहसंस्कार नगर्न आग्रह गरे पनि निर्णय पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।
कालीगण्डकी नदीमा दाहसंस्कार गर्दा आउने मलामीहरुलाई बाटो, बत्ती, दाउरा, खानपिनको समस्या हुने भएकाले पनि राम्दीका सरोकारवालाहरुले रातिको समयमा दाहसंस्कार नगर्न अनुरोध गरिएको स्थानीय एवम् सुनगुफा युवा क्लबका अध्यक्ष शिवहरि अमात्यले बताउनुभयो । “दिउँसो त कतिपय मलामीहरु शव जलाउन सुरु गर्नासाथै घाटबाट फर्किनुहुन्छ”, उहाँले भन्नुभयो, “रातिको समयमा त झनै मलामीहरु कम हुने, नदी किनारमा परिवार र नजिकका आफन्त मात्रै हुँदा शवमा आगो लगाई छाड्ने, चिता राम्रोसँग सफा नगर्ने हुनाले शवका अवशेषहरु जन्तु जनावरले नजिकै रहेको बस्तीमा ल्याउने गरेको छ ।” शवलाई पूर्णरुपमा जलाएर मात्रै छाड्न, दाउरा, कपडा, प्लास्टिकका बोतलहरु, जथाभावी नफाली जलाएर नष्ट गर्न उहाँले आग्रह गर्नुभयो । शवलाई बालुवाले मात्रै पुरेर छाड्दा कुकुर तथा स्यालले खोस्रेर शवका टुक्राटुक्रीहरु बजारमा ल्याउँदा दुर्गन्धित हुने गरेको छ ।
व्यवस्थित शवदाहस्थल तथा स्नानस्थल बनाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग स्थानीयवासीहरुले अनुरोध गरे पनि अझै सुनुवाइ भएको छैन । केही वर्ष पहिला राम्दीघाटसम्म पुग्ने सिँढी गल्याङ नगरपालिकाले बनाएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । पहिला बनाएको सिँढी गत असोजमा आएको बाढीले बगाएर लगेकाले अहिले घाटसम्म पुग्न असहज भएको छ । चाडबाडको बेला भएकाले त्यहाँ काम गर्नका लागि कामदार नपाएकाले तिहार सकिएलगत्तै घाटसम्म पुग्ने बाटोको काम तुरुन्तै हुने उहाँले बताउनुभयो । “अहिले दाहसंस्कार कार्य भइरहेको ठाउँ दीर्घकालीन तरिकाले हेर्दा उपयुक्त छैन, बस्तीको नजिकै छ”, उहाँले भन्नुभयो, “दीर्घकालीन तबरले अन्यत्र स्थानान्तरण नहुँदासम्म केही समयका लागि अहिलेकै ठाउँमा दाहसंस्कार हुन्छ र त्यहाँसम्म पुग्नका लागि सिँढीलगायतको काम हामीले गर्छौं ।”
राम्दीको बृहत्तर विकासका लागि गुरुयोजना बनेको भए पनि त्यसलाई पूरा गर्न स्थानीय सरकारले मात्रै नसक्ने भएकाले गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । “राम्दीमा स्नान घाट र व्यवस्थित शवदाहस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारेका छौँ”, उहाँले भन्नुभयो, “उक्त योजना पूरा गर्नका लागि झण्डै रु सात करोड लाग्छ, नगरको सीमित स्रोतले मात्र सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गर्छौं ।”
स्नान घाट तथा शवदाहस्थल निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनअनुसार गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले बताउनुभयो । आर्थिक वर्ष २०८३÷८४ का लागि शवदाहस्थल र स्नान घाट निर्माण गर्न रु ५० लाख विनियोजन भएको उहाँले बताउनुभयो । शवदाहस्थल निर्माण र स्नान घाट निर्माण गर्न गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा समावेश गरेर दुई करोड ५० लाख बजेट विनियोजन गरी बोलपत्रको प्रक्रियामा रहेको बताउनुभयो । “राम्दीमा व्यवस्थित शवदाहस्थल र स्नान घाट निर्माण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीसमक्ष जानकारी गराइएको छ”, उहाँले भन्नुभयो ।
अहिले दाहसंस्कार भइरहेको स्थलभन्दा झण्डै ५०० मिटर पर तलतिर शवदाहस्थल बनाउँदा बस्तीलाई पनि असर नगर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । स्नान घाटकालागि रु एक करोड र शवदाह स्थल निर्माणका लागि रु चार करोड विनियोजन गरी डिपिआरअनुसार छिट्टै काम सुरु गर्न पहल गरिरहेको उहाँको भनाइ थियो ।
पवित्र तीर्थस्थल मुक्तिनाथ क्षेत्रदेखि प्रवाहित कालीगण्डकी नदीको धार्मिक महत्व उच्च छ । शालग्राम पाइने विश्वकै एकमात्रै नदीको रुपमा चिनिएको कालीगण्डकीको पवित्रता एवम् ऐतिहासिकता पृथक खालको रहेको छ । भगवान रामचन्द्रले स्नान गरेको धाम÷तीर्थ र कपिलमुनिले तपस्या गरेर सिद्धी प्राप्त गरेको यस ठाउँमा कालीगण्डकीको पवित्र जलले स्पर्श गर्दा सबै पापहरु हराएर मृतकको स्वर्गवास हुने विश्वास रही आएको छ ।रासस
























