चितवन विशेष
चितवनमा व्यावसायिक हाँसपालनमा रमाउँदै शंकर महत्तो, वार्षिक १५ हजार चल्ला बिक्री

चितवन, कार्तिक १४-
चितवनमा व्यावसायिक रूपमा हाँसपालन गर्ने किसानको संख्या निकै कम छ । त्यसमा पनि फर्म नै दर्ता गरेर व्यवस्थित रूपमा हाँसपालन गर्ने व्यवसायी भेटिनु अझ दुर्लभ छ । तर, यही क्षेत्रमा सम्भावना देखेर भरतपुर महानगरपालिका–१७ शारदानगरका शंकर महत्तो विगत पाँच वर्षदेखि व्यावसायिक हाँसपालनमा सक्रिय हुनुहुन्छ ।
महत्तोले पाँच वर्षअघि ‘अमेरिकन हाँस तथा माछा फर्म’ दर्ता गरेर हाँसपालन सुरु गर्नुभएको हो । अहिले उहाँको फर्ममा करिब ६ सय वटा हाँस छन् । हाँसको मासु बिक्री गर्नुभन्दा चल्ला उत्पादन गरेर बिक्री गर्ने उहाँको मुख्य व्यवसाय हो ।
सुरुमा करिब दुई हजार हाँस पाल्नुभएका महत्तोले विभिन्न कारणले संख्या घटाएर ६ सयमा झार्नुभएको थियो । ‘स्यालले हाँस मार्ने तथा मर्ने समस्या भएपछि संख्या घटाउनुपरेको थियो’ उहाँले भन्नुभयो ‘अब व्यवसाय विस्तार गरेर पुनः हाँसको संख्या बढाउने योजना छ।’
महत्तोले ब्रोइलर जातका हाँसपालन गर्दै आउनुभएको छ । ती हाँस छिटो बढ्ने भएकाले चल्ला उत्पादन र बिक्रीका लागि उपयुक्त भएको उहाँको अनुभव छ । उहाँका अनुसार ब्रोइलर हाँस दुई महिनामै करिब दुई किलोसम्म पुग्छन् ।
फर्मबाट उत्पादित चल्ला प्रतिगोटा एक सय रुपैयाँका दरले बिक्री हुने गरेका छन् । वर्षमा १५ हजारभन्दा बढी चल्ला बिक्री गर्दै आउनुभएका महत्तोले हाँसपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
उहाँका अनुसार हाँसको मूल्य जात र प्रयोजनअनुसार फरक पर्छ । पोथी हाँस करिब सात सय रुपैयाँ र भाले हाँस एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । तर, आफ्नो मुख्य ध्यान मासुका लागि हाँस बिक्री गर्नुभन्दा चल्ला उत्पादनमा रहेको उहाँको भनाइ छ ।
सीमित संख्यामा हाँस पालेर पनि महत्तोले यस व्यवसायबाट वार्षिक करिब १० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । परिवारका सदस्यको सहयोगमा उहाँले फर्म सञ्चालन गरिरहनुभएको छ ।
चितवनमा हाँसपालनको व्यावसायिक सम्भावना भए पनि यस क्षेत्रमा किसानको आकर्षण अझै बढ्न नसकेको उहाँको अनुभव छ । महानगरपालिकामा हाँसपालनलाई व्यवसायका रूपमा अगाडि बढाउने किसान निकै कम रहेको उहाँ बताउनुहुन्छ ।
हाँसपालनमा सम्भावना देखेपछि आफू यसैलाई व्यवस्थित र विस्तार गर्ने योजनामा रहेको महत्तोको भनाइ छ । महत्तो हाँसपालनमा मात्रै सीमित हुनुहुन्न । उहाँसँग माछापालनको १७ वर्ष र बंगुरपालनको १५ वर्षको अनुभवसमेत छ । विगतमा माछा र बंगुरपालनलाई पनि सँगसँगै अगाडि बढाउनुभएका उहाँ अहिले विभिन्न कारणले ती व्यवसायमा चुनौती थपिएको बताउनुहुन्छ ।
माछापालनमा गुणस्तरीय भुरा पाउन कठिनाइ भएको उहाँको अनुभव छ । बजारमा पाइने माछाका भुराको गुणस्तर र जातबारे स्पष्ट जानकारी नहुँदा किसान समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ । सही जातको भुरा उपलब्ध नहुँदा लगानीअनुसार प्रतिफल पाउन कठिन हुने उहाँको भनाइ छ ।
व्यावसायिक हाँसपालनलाई थप व्यवस्थित बनाउन भेटेरिनरी सेवा र प्राविधिक सहयोग आवश्यक रहेको महत्तो बताउनुहुन्छ । विशेषगरी हाँसको अण्डा उत्पादन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रणका विषयमा सहज सेवा उपलब्ध हुनुपर्ने उहाँको अपेक्षा छ ।
स्थानीय तहले व्यावसायिक हाँसपालन गर्ने किसानलाई आवश्यक प्राविधिक परामर्श, उपचार सेवा र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न सके यस क्षेत्रमा थप किसान आकर्षित हुन सक्ने उहाँको विश्वास छ ।
























