स्वास्थ्य

आफूलाई गुमाउँदै हुनुहुन्छ ? यस्तो सम्बन्धबाट कसरी बाहिरिने

०
Banner

काठमाडौँ , असोज ९ –

कुनै सम्बन्धमा रहँदा तपाईंलाई अक्सर आफूले आफैँलाई गुमाउँदै गएको महसुस हुन्छ ?

अगाडिको मान्छेले केही भनोस् वा नभनोस्, उनीसँग बस्नाले मात्र तनाव, बेचैनी वा घुटन महसुस हुन थाल्यो भने, यसलाई सम्बन्धको उतारचढाव मात्र मानेर बेवास्ता गर्नु सही होइन।

कतिपय अवस्थामा हामी कुनै व्यक्तिसँग यति धेरै अभ्यस्त हुन्छौँ, त्यो सम्बन्धले हामीलाई खुसी दिइरहेको छ वा बिस्तारै हाम्रो मानसिक शान्ति खोसिरहेको छ भन्ने छुट्याउनै गाह्रो हुन्छ।

विशेषगरी त्यतिबेला, जब सम्बन्धमा मायाको साथसाथै पटक-पटकको अपमान, नियन्त्रण गर्ने प्रयास, भावनात्मक दबाब वा हरेक कुरामा आफूलाई दोषी महसुस गराउने जस्ता कुराहरू समावेश हुन्छन्।

टक्सिक (विषाक्त) सम्बन्धबाट बाहिर निस्कने निर्णय लिन सजिलो हुँदैन। अर्को व्यक्तिले कस्तो प्रतिक्रिया जनाउला, आफू एक्लै कसरी बस्ने वा यति वर्ष पुरानो सम्बन्धलाई कसरी टुङ्ग्याउने भन्ने डर मनमा रहिरहन्छ।

यही कारणले गर्दा धेरै मानिसहरू दुःखी भएर पनि त्यही सम्बन्धमा टिकिरहन्छन्। तर कुनै सम्बन्धबाट बाहिर निस्कनु भनेको त्यसलाई अन्त्य गर्नु मात्र नभई, आफ्नो मानसिक शान्ति र आफ्नो पहिचानलाई पुनः प्राप्त गर्ने दिशामा चालिएको कदम पनि हुन सक्छ।

यदि तपाईं पनि यस्तै सम्बन्धमा फस्नुभएको छ र कहाँबाट सुरुवात गर्ने भनेर अलमलमा हुनुहुन्छ भने, इजाजतपत्र प्राप्त थेरापिस्ट जेफ्री मेल्टजरले बताएका यी ५ उपायले तपाईंलाई परिस्थिति बुझ्न र सुरक्षित रूपमा अघि बढ्न मद्दत गर्न सक्छन्:

सबैभन्दा पहिले सम्बन्ध विषाक्त छ भन्ने कुरा बुझ्नुहोस्

यो कुरा सुन्दा निकै सामान्य लाग्न सक्छ। तर सत्य के हो भने, हामी कसैको गलत व्यवहारमा यति धेरै अभ्यस्त भइसकेका हुन्छौँ, उनीहरूका अस्वस्थ बानीहरूलाई समेत बेवास्ता गर्न थाल्छौँ। यसका लागि उनीहरूको व्यवहारको ढाँचालाई ध्यानपूर्वक हेर्नुहोस्।

के उनीहरू तपाईंलाई तपाईंको सिद्धान्तविपरीतका कामहरू गर्न बाध्य पार्छन् रु के उनीहरूले तपाईंको सीमालाई बारम्बार पार गर्छन् ? के उनीहरू आफ्नो गल्तीको जिम्मेवारी लिनुको सट्टा हरेक कुराको लागि अरूलाई दोष दिन्छन् ? जब तपाईंले वास्तविकतालाई स्पष्ट रूपमा देख्नुहुनेछ, तब मात्र त्यो व्यक्तिलाई आफ्नो जीवनमा कतिसम्मको छुट दिने भन्ने कुरा तय गर्न सक्नुहुनेछ।

कुराकानी र भेटघाटलाई सीमित गर्नुहोस्

यसको अर्थ रातारात त्यो व्यक्तिसँग सम्पूर्ण सम्बन्ध तोडेर ‘नो कन्ट्याक्ट’ (सम्पर्कविहीन) हुनुपर्छ भन्ने पक्कै होइन, किनभने यो सधैँ सम्भव हुँदैन। तर त्यो व्यक्तिले आफूमाथि नकारात्मक असर पारिरहेको महसुस हुनासाथ, उनीहरूसँग बिताउने समयको बारेमा सतर्क हुनुहोस्।

तपाईंले उनीहरूसँगको हरेक अनावश्यक भेटघाटका लागि ‘हुन्छ’ भन्न बन्द गर्नुपर्छ। यसको अर्थ उनीहरूसँग नराम्रो व्यवहार गर्नुपर्छ भन्ने पनि होइन, मात्र आफू र उनीहरूबिच एउटा स्वस्थ दुरी कायम गर्नुहोस्।

असहजतालाई सहन सिक्नुहोस्

आफ्नो जीवनमा सधैँ हस्तक्षेप गर्दै आएको व्यक्तिसँग दुरी बढाउँदा, सुरुवाती चरणमा तपाईंलाई निकै अनौठो र असहज महसुस हुनेछ। जब तपाईं उनीहरूलाई ‘नाइँ’ भन्नुहुन्छ, उनीहरू रिसाउन सक्छन्, तपाईंमाथि दबाब दिन सक्छन् वा तपाईंलाई दोषी महसुस गराउने प्रयास गर्न सक्छन्।

तर आफूलाई बचाउनका लागि यो सामान्य असहजतालाई झेल्ने बानी बसाल्नैपर्छ भन्ने कुरा याद राख्नुहोस्। अब तपाईं अरूलाई खुसी राख्नका लागि आफूसँग सम्झौता गर्दै हुनुहुन्न भन्ने कुराको सङ्केत हो यो।

टक्सिक मानिसहरूमा पनि राम्रा बानीहरू हुन सक्छन् भन्ने तथ्यलाई स्वीकार गर्नुहोस्

एउटै समयमा दुई कुराहरू सत्य हुन सक्ने भएकाले पनि सम्बन्ध तोड्न गाह्रो हुन्छ। तपाईंले त्यो व्यक्तिलाई धेरै माया गरेको र उनीहरूसँग केही सुन्दर सम्झनाहरू जोडिएका हुन सक्छन्।

तर तिनै पुराना राम्रा सम्झनाहरू उनीहरूको हालको पीडादायी व्यवहार सहिरहने आधार भने बन्न सक्दैनन्। उनीहरूसँग बिताएको राम्रो समयलाई तपाईं सम्मान गर्न सक्नुहुन्छ, तर आफूलाई भित्रभित्रै तोडिरहेको कुरालाई सहेरै बस्नुपर्छ भन्ने यसको अर्थ होइन।

उनीहरू बदलिनेछन् भन्ने पर्खाइ बन्द गर्नुहोस्

तपाईं हकदार भएको माफी सायद तपाईंले कहिल्यै नपाउनुहोला, वा उनीहरूको व्यवहारले तपाईंलाई कति पीडा दियो भन्ने कुरा उनीहरूले कहिल्यै नबुझ्लान्। तर आफैँलाई रोज्नका लागि तपाईंलाई उनीहरूको बुझाइ वा अनुमतिको आवश्यकता पर्दैन।

कसैसँग गहिरो लगाव भए तापनि आफ्नो मानसिक शान्ति र सुरक्षाका लागि उनीहरूबाट दुरी बनाउनु नै समझदारी हो।

यदि तपाईं यस्तो कुनै सम्बन्धमा फस्नुभएको छ भने, आजै यी उपायहरू अपनाउनुहोस् र आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>