देश/प्रदेश
त्रिशूली नदीमा सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौँ, असोज ९ –
नुवाकोटस्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार धुन्चे जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो । जलसतह बढ्ने क्रम जारी रहन सक्ने भएकाले नदी आसपासका बस्ती तथा सडक क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ ।
महाशाखाले नदी किनार तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन र सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ । त्यस्तै, नदी किनारका सडकबाट यात्रा गर्दा पनि विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलाको जलसतह बढ्न सक्ने भएकाले बाढीसम्बन्धी थप सूचना नियमित रूपमा हेर्नसमेत महाशाखाले आग्रह गरेको छ ।























