देश/प्रदेश

कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

Banner

गण्डकी, भदौ २१ –

रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट आफन्तको ‘डिएनए’ नमूना सङ्कलन सुरु गरिएको छ ।

‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै सुरु गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । यसअघि उक्त सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएकामा ‘डिएनए’ नमूना सङ्कलनलाई सहज र सरल बनाउने उद्देश्यले एकीकृत सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो । बाढीमा परी मृत्युवरण गरेका ७६ जनाको शव यही भदौ १६ गते पोखरा महानगरपालिका–१६ लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो ।

जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमूना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको ‘डिएनए’ नमूना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो । शवबाट सङ्कलन गरिएको ‘डिएनए’ नमूना राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्नेगरी शव व्यवस्थापन गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो ।

बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएकामा ७६ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको थियो भने अन्य शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>