अन्तर्राष्ट्रिय
नेपाललाई भारतको चौथो चरणको सहयोगः सुरुङ विज्ञ, डीएनए विशेषज्ञ र बेली ब्रिजसहितका प्राविधिक टोली परिचालन

काठमा, भदौ १४-
बाढी र पहिरोले पुर्याएको ठूलो जनधनको क्षतिका बीच भारतले उद्धार र राहतका लागि अत्याधुनिक उपकरण र विशेषज्ञ टोली पठाएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा धेरै मानिस बेपत्ता भएकाले भारतले टनेल टेक्निकल कन्टिन्जेन्ट (सुरुङ प्राविधिक दस्ता) पठाएको हो । यस टोलीसँग सुरुङभित्र खोज र उद्धारका लागि आवश्यक विशेष उपकरणहरू रहेको भारतका विदेशमन्त्री एस. जय शंकरले जानकारी दिए ।
यसैगरी, ठूलो संख्यामा फेला परेका शवहरूको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले भारतले डीएनए विश्लेषण (DNA Analysis) गर्ने फोरेन्सिक विशेषज्ञहरूको टोली र उपकरण समेत पठाएको छ। नेपालमा हालसम्म ७३४ शव फेला परेको र धेरैको पहिचान खुल्न बाँकी रहेको अवस्थामा यो टोलीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
राजमार्गका पुलहरू ध्वस्त भएर आवागमन अवरुद्ध भएका बेला भारतले ठूलो सहयोग उपलब्ध गराएको छ । २३० फिट लामो सिंगल लेन मोडलर स्टिल ब्रिज (Modular Steel Bridge) बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्।
थप ७ वटा बेली ब्रिज (Bailey Bridges) स्थापनाका लागि आवश्यक उपकरणहरू चाँडै पठाइने बताइएको छ ।

























