देश/प्रदेश
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव

काठमाडौँ, भदौ ११-
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रसुवाको भोटेकोशीमा यही भदौ १० गते बुधबार आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज विज्ञप्तिमार्फत यस विपत्तिमा अकालमै ज्यान गुमाउनुभएका नेपाली नागरिक, विदेशी पर्यटक तथा तीर्थयात्रीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले विपत्तिमा परेकाहरूको उद्धार, बेपत्ता भएकाहरूको खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको यथोचित उपचारका लागि सबैमा आग्रह गर्नुभएको छ ।
“बाढीबाट प्रभावितहरूको उद्धार र सहयोगका लागि सरकार र सुरक्षाकर्मीहरू सक्रियताका साथ लागि परेका छन् । यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई अकल्पनीय विपत्तिको सामना गर्न र आ–आफ्नो स्तरबाट हरसम्भव सहयोग गर्न आग्रह गर्दछु”, उहाँले उल्लेख गर्नुभएको छ ।
यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई विपत्तिको सामना गर्न र आ–आफ्नो स्तरबाट सहयोग गर्न आग्रह गर्दै उपराष्ट्रपति यादव एक–अर्काको सहारा र सहयोगी बन्नु नै सामूहिक कर्तव्य भएको उल्लेख गर्नुभएको छ । रासस

























