देश/प्रदेश
गोसाइँकुण्डबाट काठमाडौं फर्कँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं, भदौ ११-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी काठमाडौं फर्कने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
तोकिएको वैकल्पिक मार्गअनुसार गोसाइँकुण्डबाट सूर्यकुण्ड पास–फेदी–घोप्टेभीर-म्युजियम–टालु–सिस्पु–घ्याङफेदी–समुन्द्रटार–चौघडा–थानसिङ हुँदै काठमाडौं फर्कन सकिने जनाइएको छ । दुप्चेश्वरबाट समेत यही मार्ग हुँदै काठमाडौं जोडिन सकिन्छ ।
नियमित धुन्चे–कालिकास्थान–नुवाकोट÷विदुर हुँदै काठमाडौं जाने पुरानो मार्ग भने अर्को सूचना जारी नभएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ ।
मनत्रालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्गबारेको सूचनालाई सबै तीर्थयात्री तथा पर्यटकसम्म पुर्याउन आग्रह गरेको छ । आपत्कालीन अवस्थामा १००, १११४ वा १०२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
मन्त्रालयले सबै तीर्थयात्री तथा पर्यटकलाई सूचनाको पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

























