देश/प्रदेश

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

Banner

काठमाडौँ, भदौ १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बाढीलाई आवश्यकताअनुसार राष्ट्रिय विपद् घोषणा गरी उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले बाढीबाट हजारौँ नागरिक बेपत्ता भएको सूचना आएको र जलविद्युत् आयोजना, सुरक्षा निकायका पूर्वाधार, विद्यालय, बस्ती, बजार तथा पुलपुलेसामा ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले क्षतिको वास्तविक विवरण अझै पूर्ण रूपमा प्राप्त नभएको भन्दै अवस्था कल्पनाभन्दा बाहिरको रहेको बताउनुभयो ।

मुख्य सचेतक बुर्लाकोटीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिमलगायतका क्षेत्रमा बाढीको प्रभाव परेको जानकारी दिँदै प्रभावित क्षेत्रमा तत्काल उद्धार र स्वास्थ्य सेवा पुर्‍याउन सरकारलाई आग्रह गर्नुभयो ।

गोरखाबाट गोसाइँकुण्ड यात्रामा गएका दुई माइक्रोबस र एक बसमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको सूचना प्राप्त भएको र त्यसमा मानवीय क्षति भएको जानकारी आफूले पाएको उहाँले बताउनुभयो । दोलखाबाट रसुवामा काम गर्न गएका नागरिकसमेत विपद्मा परेको सूचना प्राप्त भएको उहाँको भनाइ थियो ।

उहाँले प्रभावित क्षेत्रका सांसदहरू उद्धार तथा राहतमा प्रत्यक्ष सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिँदै सरकार, राजनीतिक दल, सरकारी निकाय, सङ्घसंस्था तथा पूर्वसैनिक र पूर्वप्रहरीसहित सबै पक्षलाई उद्धार तथा राहतमा परिचालन गर्न आग्रह गर्नुभयो ।

बुर्लाकोटीले राष्ट्रिय विपद् कोष सञ्चालन गर्न तथा आवश्यकता र औचित्यका आधारमा राष्ट्रिय विपद् घोषणा गर्नसमेत सरकारसँग माग गर्नुभयो ।

साथै, विषम परिस्थितिमा मित्रराष्ट्रको सहयोगसमेत लिएर दीर्घकालीन विपद् व्यवस्थापन रणनीति बनाउनुपर्ने उहाँको भनाइ थियो । प्रतिनिधिसभाको बैठकमा आकस्मिक बैठक जारी छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>