देश/प्रदेश
दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीलाई सास्ती
जनकपुरधाम, साउन १३ –
दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीलाई सास्ती पुगेको छ ।
धनुषाको ढल्केबर–जनकपुर–जटही छ लेन सडकखण्डअन्तर्गत जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी तथा यात्रु सास्ती खेप्न बाध्य छन् ।
जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने रणनीतिक मार्गको महत्त्वपूर्ण संरचना हो, उक्त पुल, स्थानीय सुबोध नायकले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको बताउनुभयो ।
जनताले पुल छिट्टै तयार हुने अपेक्षा गरे पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निरासा बढेको छ । निर्माणकार्य अधुरो रहँदा जनताका अपेक्षा पूरा हुन सकेन । निर्माण ठेक्का २०७६ साल जेठ २५ गते नागार्जुन हेम जेभीसँग भएको थियो । निर्माण लागत रु १३ करोड ९५ लाख ६४ हजार ३३८ मा सम्झौता भएको हो ।
सडक डिभिजन कार्यालय जनकपुरधामले २०८२ माघ १७ गते पुल निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिएको छ । पुल निर्माणमा भएको ढिलाइका कारण सडक डिभिजन कार्यालय जनकपुरधामले नागार्जुन हेम जेभीसँगको ठेक्का सम्झौता तोडेको प्रमुख इन्जिनियर दारोगा प्रसादले बताउनुभयो ।
ढल्केबर–जनकपुर–जटही छ लेन सडक मधेस प्रदेशकै महत्त्वपूर्ण सडक आयोजना हो । भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले पुलको निर्माण थालनी गरिएको थियो ।

























