देश/प्रदेश

पुरोहितहरुलाई कर्मकाण्ड कक्षा

Banner

तुलसीपुर (दाङ), असार २९ –

दाङका धेरै पुरोहित पुस्तौँदेखि परम्परागत रूपमा कर्मकाण्ड गर्दै आए पनि औपचारिक अध्ययनको अवसरबाट वञ्चित थिए । अहिले भने नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता विद्यापीठ विजौरीले सञ्चालन गरेको छ महिनाको माध्यमिक तहको कर्मकाण्ड तालिमले उनीहरूलाई शास्त्रीय ज्ञान र शुद्ध उच्चारण सिक्ने अवसर प्रदान गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ निवासी यमराज उपाध्याय लामो समयदेखि पुरोहित कर्ममा संलग्न हुनुहुन्छ । सामान्य अध्ययनका आधारमा पुरोहितको काम गर्दै आए पनि औपचारिक रूपमा कर्मकाण्ड अध्ययन गर्ने अवसर नपाएको उहाँ बताउनुहुन्छ । “सामान्य अध्ययन त थियो, तर सबै विषयको गहिरो ज्ञान रहेनछ,” उहाँले भन्नुभयो, “वर्षौंदेखि पुरोहित कर्म गर्दै आए पनि अहिले गुरुहरूबाट आफूले गरेका कमीकमजोरी थाहा पाउने र शुद्ध उच्चारण सिक्ने अवसर मिलेको छ ।”

तुलसीपुर–९ दोघरे निवासी गणेश आचार्य पनि २२ वर्षको उमेरदेखि पुरोहित कर्ममा सक्रिय हुनुहुन्छ । हाल करिब ६० वर्ष पुग्नुभएका उहाँले बाजे र बुबाबाट सिकेको ज्ञानका आधारमा कर्मकाण्ड गर्दै आउनुभएको थियो । “हामीले औपचारिक रूपमा पढेका थिएनौँ, बाउबाजेले गरेको देखेर सिक्यौँ र त्यही परम्परालाई निरन्तरता दियौँ,” उहाँले भन्नुभयो ।

यमराज उपाध्याय र गणेश आचार्यजस्ता परम्परागत रूपमा पुरोहित कर्म गर्दै आएका धेरै व्यक्ति अहिले उक्त तालिममा सहभागी भएका छन् । उनीहरूले जन्म, विवाह, मृत्यु तथा अन्य धार्मिक संस्कारका अवसरमा समाजलाई सेवा दिँदै आएका छन् ।

जनता विद्यापीठ विजौरीका प्रशिक्षक बद्रीप्रसाद गौतमका अनुसार परम्परागत रूपमा कर्मकाण्ड गरिरहेका पुरोहितको ज्ञानलाई व्यवस्थित र शास्त्रीय बनाउन छ महिनाको माध्यमिक तहको कर्मकाण्ड पाठ्यक्रम सञ्चालन गरिएको हो । “उहाँहरूले गाउँ–गाउँमा पुगेर धार्मिक संस्कार सम्पन्न गराउँदै आउनुभएको छ, जुन समाजसेवा पनि हो,” गौतमले भन्नुभयो, “छ महिनाको पाठ्यक्रम पूरा गरेपछि उहाँहरूको ज्ञान र कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।”

पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि उनीहरूले माध्यमिक तहको कर्मकाण्ड विषयको प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था रहेको प्रशिक्षक गौतमले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>