देश/प्रदेश
बैतडीमा बस दुर्घटना : एकजनाको मृत्यु, १० घाइते

बैतडी, ५ असारः
बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोही नगरपालिका– ६ बस्ने ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको घटनास्थलमा नै मृत्यु भएको हो ।
शुक्रबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
बसमा चालकसहित १२ जना सवार थिए । सो गाडीका चालक केशवसिंह महरालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरको कमाण्डमा तथा अस्थायी मनसुन प्रतिकार्य वेश छेला बैतडीको साथै नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको थियो ।
घाइते भएकाहरूमध्ये पाँचजनाको अवस्था भने गम्भीर छ । घाइते भएकाहरूलाई उद्धारपश्चात उपचारको लागि जिल्ला अस्पताल बैतडीतर्फ पठाइएको छ ।


























