देश/प्रदेश

निर्माणको अन्तिम चरणमा भब्य बन्दै गरेको नयाँ संसद् हल, सम्पन्न हुने मिति अझै अनिश्चित

Banner

काठमाडौं ,असार २ –

सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ। यद्यपि, निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्ने निश्चित मिति भने तय भएको छैन।

पटक–पटक म्याद थपिए पनि काममा ढिलाइ भएपछि सभामुख डीपी अर्याल ले असार १ गते निर्माणाधीन संसद् हलको निरीक्षण गरेका थिए। संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका उनले निर्माण सम्पन्न हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए। साथै, समयमै काम सम्पन्न नभए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिएका थिए।

निरीक्षणका क्रममा उनले सहरी विकास मन्त्री र सचिवलाई तत्काल काम सक्न निर्देशन दिँदै भनेका थिए, “रातदिन काम गरेर भए पनि बोलेको कुरा पुर्‍याउनुपर्‍यो। बहाना बनाइरहनुभएको छ। यो हामीमाथिको मात्र होइन, राष्ट्रकै अपमान हो। अब मलाई स्पष्ट निष्कर्ष चाहियो।”
निर्माण कार्य पूरा नभएकाले प्रतिनिधि सभाको बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद्का बैठक नियमित रूपमा यहीँ सञ्चालन गर्ने तयारी गरिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>