धार्मिक/सांस्कृतिक

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका

Banner

गण्डकी, वैशाख २७-

कास्की जिल्लाभित्रका ऐतिहासिक एवम् धार्मिक स्थलमध्येको एक हो अर्घौ मौला कालिका मन्दिर । धार्मिक आस्था एवम् विश्वासका कारण महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यो मन्दिर १७९२ सालदेखि नै अस्तित्वमा आएको छ ।

पोखरा महानगरपालिका–२८ मा समुद्री सतहबाट एक हजार दुुई सय मिटर उचाइमा अवस्थित यस मन्दिरको दक्षिणतर्फ पूर्व पश्चिम फैलिएको समथर भूमि र उत्तरतर्फ अन्नपूर्ण हिमश्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिनुले पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अर्घौं ठूलाकोट झाँझरमारे भञ्ज्याङमा रहेको यहाँ आउन पृथ्वी राजमार्गको कालिका चोकलगायत विभिन्न स्थानबाट सात आठ किलोमिटरको दूरी पार गर्नुपर्दछ ।

भण्डै तीन सय वर्षदेखि मनले चिताएको पुुग्ने विश्वासका साथ श्रद्धा भक्तिपूर्वक पूजाआजा हुँदै आएको यस मन्दिरको स्थानीयवासीसँगै राज्यका तर्फबाट संरक्षण र विकासमा सहयोग हुँदै आएको अर्घौैं मौलाकालिका भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष बोधराज त्रिपाठीले जानकारी दिनुभयो ।

मन्दिर निर्माण पश्चात विभिन्न समयमा जीर्णोद्धार हुँदै आएकामा पछिल्लो समयमा पुुरातात्विक सम्पदाका रुपमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट पूर्ववत् मौलिक स्वरुपमा मन्दिर निर्माण गरिसकिएको छ । मन्दिर संरक्षण समितिले मन्दिर परिसरसँगै ऐतिहासिक पोखरी र छेउमा अवस्थित सर्पराज नागको मन्दिर, कैलाशेश्वर शिवालय मन्दिर संरक्षणका साथै नियमित पूजाआजा, धार्मिक अनुष्ठानको व्यवस्थापन गर्दै आएको उहाँले बताउनुुभयो ।

मन्दिर उत्पत्तिको किंवदन्ती

कालिका भगवतीको उत्पत्ति सम्बन्धमा रोचक किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार अघौं ठूलाकोट झाँझमारे भञ्ज्याङमा रहेको बारीमा १७९२ सालमा एक किसानले हलो जोत्दा फाली ढुुङ्गामा लगी ढुुङ्गा चोइटिएछ । चोइटिएर फुटेको ढुुङ्गाबाट रगत बगेछ । ढुुङ्गामा रगत आएको देखेपछि किसानले हलगोरु फुकाएर घरमा गई सबै बृतान्त परिवारसँग भनेछन् । त्यही रातमा ज्योतिर्विद् पण्डित अग्निहोत्री जगन्निवास त्रिपाठीलाई सपना भएछ ।

सपनामा त्रिपाठीलाई, “म काली हुँ, यस ठूलाकोट भञ्ज्याङकै बारीमा बसेकी छुु । यसै ठाउँमा एक कुण्ड बनाएर मेरो सेवा गर सधैं तिम्रा सन्तान र यस क्षेत्रको रक्षा गर्नेछु” भन्दै अन्तरध्यान भइछन् । बिहान उठेर सपनामा बताइएको ठाउँमा गएर हेर्दा शिलाबाट रगत आइरहेको देखिएपछि धोइपखाली गरेर कालीको मन्त्र जप गरी क्षमा मागेपछि रगत आउन बन्द भएछ । त्यही बेलादेखि नै शिला भएको ठाउँमा सरसफाई गरी कुण्ड बनाएर भकारी र चित्राले घेरेर संरक्षण गरी पूजाआजा गर्न थालिएको पाइन्छ ।

उक्त कुुण्डलाई अहिले पनि मन्दिरको बीच भागमा चौघेरा बनाएर कुण्डकै रुपमा पूजाआजा हुँदै आएको छ । तिनै जगन्ननिवासका सन्तान मध्ये पृथुुधर र जागेश्वरले १८४५ सालमा मन्दिरको स्वरुप दिएर कालीको नाममा चाँपाचौरको करिब पाँच रोपनी जग्गालाई गुठी जग्गाका रुपमा पुजारीलाई व्यवस्था गरी त्यसबाट आउने आयस्ताबाट धुप अक्षता चढाइ नित्य पूजाआजा गर्ने व्यवस्था मिलाएको पाइन्छ ।

त्यस्तै १९०५ सालमा पूर्णदीप त्रिपाठीको सकृयतामा स्थानीय समाजसेवी, बुद्धिजीवि समेतको भेलाबाट मन्दिरमा साँझ विहान नगरा लगाउनका लागि नगरेको व्यवस्था गर्न स्थानीय चम्डिलोको करिब साढे चार रोपनी क्षेत्रफलको गुठी जग्गा व्यवस्था गरिएको पाइन्छ । मु।गुरुप्रसाद अधिकारीले गडुवा वेहुले बगरस्थित करिब २४ मुरी माटो खेत पुजारी र नगरेले आधा आधा कमाई खान दिन गुठी व्यवस्था गर्नुुभएको छ । मु। भुवानीप्रसाद भण्डारीले एक ठूूलो घण्टी राख्ने र अन्य गाउँलेबाट यथाशक्य रकम जम्मा गरी मन्दिर मर्मत तथा सरसफाईको व्यवस्था गर्ने भन्ने कुरा तत्कालीन समयका टिपोट, लेख, दस्तावेज र अग्रजहरूका भनाइबाट ज्ञात हुन आउँछ । तत्कालीन समयदेखि नै सामूहिकतामा निर्णय भई आपसी सहयोगबाटै संरक्षण र विकास हुँदै आएको यो शक्तिपीठ यस क्षेत्रकै एकताको प्रतिक जस्तै पनि बनेको स्थानीयको अनुुभव छ ।

मन्दिरको संरक्षणसँगै जीर्णोद्धारका सम्बन्धमा पनि समय समयमा प्रयास हुँदै आएको पाइन्छ । १९९६/९७ सालमा अर्घौ काफलघारी निवासी तत्कालीन विचारी मनहर्ष भण्डारीले कालिका शक्तिपीठको विवरण समेटेर श्री ३ जुुद्ध शमशेरसँग बिन्तीपत्र जाहेर भएको पाइन्छ । तत्कालीन समयमा श्री ३ जुद्ध शमशेरबाट एक हजार मो.रु.प्राप्त गर्नुभएपछि उहाँमार्फत नै काठमाडौंदेखि ल्याइएका मिस्त्री र कालिगढ एवम् स्थानीय जनश्रमदानबाट स्थानीय ढुङ्गामा चुनासुर्कीको जडान गरी कलात्मक टुँडालसमेत राखी मन्दिरको पुनःनिर्माण तथा जीर्णोद्धार भएको पाइन्छ ।

मन्दिरभित्र तत्कालीन समयमा नै गणेश, सरस्वती, सिंहनाथ एवम् बटुक भैरवका मूर्तिहरू कुँदी राखिएको थियो । त्यसै समयमा सिद्धिपुरका चतुुराखर भण्डारीले आफ्ना पिता भुवानीप्रसादले प्रदान गर्नुुभएको ठूलो घण्टी झुण्ड्याउने ढुुङ्गा, मन्दिरभित्र घण्टी झुुण्ड्याउन प्रयोग भएको ढुुङ्गा र मन्दिर परिसर प्रवेश गर्ने द्वारको दायाँ बायाँ रहेका ठूला ढुुङ्गालाई हालको स्वरुपमा स्थापित गर्नुुभएको बुढापाका बताउँछन् । मन्दिरको पूर्वतर्फ जनज्योति माविको पश्चिम मोहोडामा रहेको रहेको शिवालय मन्दिर, कालिकास्थानको ऐतिहासिक पोखरीको पश्चिमतर्फ रहेको नागको मन्दिर पनि यहाँको धार्मिक आकर्षण हुन् ।

नाग मन्दिरको पनि ऐतिहासिकता

कालिकास्थानको ऐतिहासिक पोखरीको पश्चिमतर्फ रहेको सर्पराज नागको मन्दिरलाई पनि यहाँका स्थानीयले विशेष महत्वका साथ हेर्ने गर्दछन् । १९०५ सालमा पूर्णदिप त्रिपाठीको सक्रियतामा कालिका मन्दिरको उत्तरमा अवस्थित पोखरीको पश्चिमतर्फको भागबाट मन्दिर वरपर पर्खाल लगाउन ढुुङ्गा निकाल्ने क्रममा त्यो काममा संलग्न मानिस बिरामी भएछन् । खोजी गर्दा उक्त ठाउँमा सर्पराज नागको वासस्थान भएको र ढुङ्गा निकाल्दा सर्प मर्न गएका कारण बिरामी भएको भन्ने जानकारी प्राप्त भएछ । त्यसै समयदेखि उक्त स्थानमा नागको पूजाआजा हुँदै आएको बुढापाका बताउँछन् । यस्तो पूजा प्रत्येक वर्षको दुई पटक ग्रीष्मकालीन समयमा गरिने शतचण्डकीका दिन पूजाकै दिन गर्ने गरिएको छ ।

यहाँ गरिने शतचण्डी पूजाको विशिष्ट महत्व रहेको समाजसेवी ८१ वर्षीय नन्दीकेशर त्रिपाठी बताउनुुहन्छ । आफूहरूले समेत बाल्यावस्थामा नै यहाँ गरिने शतचण्डी पूजाको ऐतिहासिकता सुन्ने गरेको बताउँदै उहाँले तत्कालीन समयमा पनि टाढाटाढाबाट विशिष्ट पण्डितहरू आएर शतचण्डीमा सहभागी भई चण्डी पाठ गर्ने गरेको जानकारी दिनुुभयो ।

तत्कालीन समयमा सडक यातायातको सुविधा नभएका अवस्थामा समेत चण्डी पाठका लागि टाढाटाढाबाट पण्डितहरू आउने गरेको बताउँदै त्रिपाठीले त्यस समयमा भरतपोखरीको बर माझथरदेखि पैदल हिडेर पं। खडानन्द पौडेललगायत पण्डितहरू आएर चण्डी पाठ गर्नुभएको आफूले प्रत्यक्ष देखेको तथा अनुभव गरेको सुुनाउनुभयो ।

मन्दिर संरक्षण तथा सम्बद्र्धनको पनि लामो इतिहास रहेको छ । स्थानीय अगुवाका अनुसार यसको संरक्षण सम्बद्र्धनमा तत्कालीन समयमा ज्यो पं। प्राणनाथ त्रिपाठीले समयसमयमा सहयोग गर्नुभएको थियो भने समाजसेवी राजचन्द्र भण्डारीको अगुवाइमा २०३६/३७ सालमा मन्दिर परिसरमा पर्खाल एवम् पूर्वतर्फको पिपलको रुख वरपर चौतारी निर्माण गरिएको थियो ।

विसं १९९६/९७ मा जीर्णोद्धार तथा पुनःनिर्माण भएको मन्दिरको पर्खाल चर्कने र श्लेटहरू खस्न थालेपछि २०५४/५५ सालमा समाजसेवी नन्दीकेशर त्रिपाठीको अध्यक्षतको समितिले स्थानीयवासीको आर्थिक सहयोगमा मन्दिरको पुनःनिर्माण एवम् पित्तलको छाना राख्ने काम गरिएको थियो । त्यसयता विभिन्न समयमा गठित समिति, त्यसका पदाधिकारीका साथै विभिन्न समाजसेवीको सहयोगमा संरक्षण, पुनःनिर्माण आदि कामहरू हुँदै आएको मन्दिरमा हाल पुरातत्व विभागको सहयोगमा मन्दिरको पुनःनिर्माणलगायतका कामहरू भएका छन् ।

मन्दिर पुननिर्माणका क्रममा कालिका भगवतीको यसअघि रहेको मूर्तिमा केही क्षति पुगेपछि हालै अर्को मूर्ति समर्पण गरिएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष सरोज भण्डारीले जानकारी दिनुभयो ।

मन्दिरमा नियमित पूजाआजाका अतिरिक्त बडा दशैं र चैते दशैंमा प्राचीन खुँडा, तरबारको पूजासहित बलि पूजा हुने गरेको छ । मन्दिरका पूजारी गोविन्दप्रसाद अधिकारीका अनुसार मन्दिरमा बडा दशैंमा नियमित रुपमा चण्डी, दुुर्गा कबच पाठपारायण हुुनुका साथै फूलपातीका दिन फूूलपाती बढाइ, नेपाली सेनाबाट सलामी, कालरात्रि एवम् आफ्नो भाकल र मनोकांक्षा पूरा गराउन बलि दिने प्रचलन छ । मन्दिरमा पूजा गर्नाले आरोग्यता, मानसिक शान्ति, पारिवारिक सुखशान्ति, निःसन्तानलाई सन्तान प्राप्तीका साथै मनले चिताएको पुग्ने विश्वास रहेको उहाँले बताउनुभयो ।

मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने बताउनुहुन्छ । तीन सय वर्षभन्दा बढीको इतिहाससँगै उच्च स्थानमा भएका कारण यहाँबाट हिमाली दृश्यावलोकन आदिका लागि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने धेरै सम्भावना रहेको उहाँले बताउनुुभयो ।

मन्दिरसम्म आइपुुग्नका लागि अधिकांश बाटाहरू व्यवस्थित भैसकेका छन् । मन्दिरमा आउनका लागि पृथ्वीराजमार्ग अन्तर्गत विजयपुर आर्मी ब्यारेक, कालिकाचोक, बुढी बजार, अर्घौं, डाँडाको नाकलगायत स्थानबाट करिब सात आठ किलोमिटरको दूरीमा सवारीसाधनबाट आउन सकिन्छ भने यहाँ शिशुवा, बेगनास ताल, भगवतीटार, मादीवेसी, सुनपदेली, काहुँखोला आदि स्थानबाट पनि आउन सकिन्छ ।

अर्घौ मौलाकालिका यस क्षेत्रको विशिष्ट धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक सम्पदा भएको लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष छत्रधर आत्रेयले बताउनुुभयो । यसको महत्वलाई उजागर गर्नु अपरिहार्य भएको बताउँदै उहाँले यस सम्पदाको संरक्षणसँगै यसलाई पर्यटन राजधानी पोखराको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने धेरै सम्भावनाहरू रहेको उल्लेख गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>