अन्तर्राष्ट्रिय

अधुरै रह्यो पीएसजीबाट च्याम्पियन्स लिग जित्ने एमबाप्पेको चाहना

Banner

काठमाडौं, वैशाख २६-

च्याम्पियन्स लिग जितेर पीएसजीबाट सुखद बहिर्गनमको तयारीमा रहेका २५ वर्षीय फ्रेन्च स्टार एमबाप्पेको चाहना अधुरै रह्यो ।

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १-० ले पराजित भएपछि पीएसजी फाइनल पुग्नबाट वञ्चित भयो । पहिलो लेग पनि १-० ले जितेको डर्टमण्ड समग्रमा २-० को जित निकाल्दै फाइनल पुगेको छ । ‘एमबाप्पेका लागि यो असामान्य अवस्था हो’, इंग्ल्याण्डका पूर्वडिफेन्डर रियो फर्डिनान्डले टीएनटी स्पोर्ट्सलाई भने, ‘उनी त्यस्ता खेलाडी हुन् जसलाई हामी सबैभन्दा ठूलो क्षणहरूमा, सबैभन्दा ठूलो स्टेजमा हेर्ने बानी छ ।’

सेमिफाइनलको दुवै लेगमा एमबाप्पे चल्न नसकेको र उनले निर्णायक प्रदर्शन गर्न नसकेको फर्डिनान्डले बताए ।

हारको निराशा

खेलपछि एमबाप्पे टाउको निहुराएर र तिघ्रामा हात राखेर अगाडि झुके । उपाधि नजिक पुगेर पनि टाढा हुनुको पीडा उनमा देखिन्थ्यो । ‘हामी सधैं पीएसजीबाट जित्न चाहन्छौं, हामी पीडा महसुस गर्छौं’, एमबाप्पेले मंगलबारको हारपछि भने, ‘हामीले गोल गर्नुपर्थ्यो। हामीले गोल गर्ने मौका पाएका थियौं, जब तपाईं गोल गर्नुहुन्न, जब तपाईं दुबै एण्डमा उत्कृष्ट हुनुहुन्न, यसलाई पार गर्न गाह्रो हुन्छ ।’

पीएसजीका प्रशिक्षक लुइस एनरिकले एमबाप्पेलाई सान्त्वना दिए र त्यसपछि उनी मैदानबाट बाहिरिए । एमबाप्पे अर्को सिजन नयाँ गन्तव्यतर्फ लाग्नेछन् । तर उनले उनले आफ्नो गन्तव्य खुलाएका छैनन् ।

धेरै फुटबल पण्डितहरुले उनको अर्को क्लब रियल मड्रिड हुने अनुमान गरेका छन् । युरोपियन कप ट्रफीहरूमा तुलना गर्दा रियल १४ हो भने पीएसजी । अर्को सेमिफाइनलमा बुधबार बायर्न म्युनिखलाई पराजित गरेमा रियल पनि फाइनलमा पुग्नेछ । मड्रिडले यसअघि पनि एमबाप्पेलाई लोभ्याउने प्रयास गरेको थियो ।

सन् २०२१ मा पीएसजीले एम्बाप्पेका लागि रियलबाट आएको १८० मिलियन युरोको प्रस्ताव अस्वीकार गरेको थियो । त्यसपछि एमबाप्पेले पीएसजीमा नयाँ सम्झौतामा हस्ताक्षर गरे, जसमा उनले अतिरिक्त वर्षको विकल्प रोजेनन् ।

यसै वर्षको सुरुमा उनले सिजनको अन्त्यमा पीएसजी छाड्ने जानकारी गराएका थिए । सात वर्षअघि, उनी फ्रान्स र सम्भवतः विश्वकै उत्कृष्ट युवा खेलाडीको रूपमा चर्चामा आएका थिए । सन् २०१८ मा उनले फ्रान्सबाट विश्वकप नै जितेका थिए ।

पीएसजीले सन् २०१७ मा एमबाप्पेका लागि १७० मिलियन युरो मोनाकोलाई तिरेको थियो । मोनाकोलाई च्याम्पियन्स लिग सेमिफाइनल पुर्‍याउन १८ वर्षीय युवा स्टार एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसबेला मोनाकोले क्वार्टरफाइनलमा जर्मन क्लब डर्टमण्डलाई हराएको थियो । जहाँ उनले दुई लेगमा गरी ३ गोल गरेका थिए ।

फ्रान्सका लागि ४६ गोल गर्ने, पुरुष विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने र विश्वकै सुपरस्टारको रूपमा रहेका एमबाप्पेले पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउनलाई कुनै जादु गर्न सकेनन् । ‘मैले मेरो टोलीलाई सक्दो सहयोग गर्ने प्रयास गरेँ । तर यो पर्याप्त थिएन’, उनले भने ।

स्टार जम्मा पारेपनि च्याम्पियन्स लिग जित्न असफल

स्टार खेलाडीहरु भित्र्याउने पीएसजीबाट कुनै समय ज्लाटन इब्राहिमोभिच, एडिसन कभानी र लिओनल मेसीले समेत खेले । तर ठूलो लगानी र खेलाडीलाई महंगो पारिश्रमिकका बावजुद पनि कुनै खेलाडीले पीएसजीमा च्याम्पियन्स लिग जित्न सकेनन् ।

एमबाप्पेले च्याम्पियन्स लिग नजिती पीएसबीबाट बाहिरनु एक युगको अन्त्य जस्तै भएको छ । यसअघि पनि पीएसजीले स्टार खेलाडीहरु जम्मा पारेको थियो तर च्याम्पियन्स लिग जित्न सकेन ।

सन् २०२१ मा कतार स्पोर्ट्स इनभेष्टमेन्टले पीएसजीको स्वामित्व लिएपछि उनीहरुले युरोपमा प्रतियोगिता जित्ने ठूलो सपना देखेका थिए । २०१७ मा नेमारलाई विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट अनुबन्ध पनि गर्‍यो । त्यसपछि एमबाप्पे आए, सन् २०२१ मा मेसी आए ।

यी तीनै जना स्टार आउने समर सिजनमा पेरिसमा हुने छैनन् । उनीहरुमध्ये मेसी अमेरिकाको मायमी, नेयमार साउदी अरेबिया र एम्बाप्पे सम्भवतस् रियल मड्रिडमा हुनेछन् ।

सन् २०१७ यता पीएसजीले ७ फ्रेन्च लिग वानमध्ये ६ उपाधि जितेको छ । यस्तै चारमध्ये तीन कप डे फ्रान्स जितेको छ । यस सिजन पनि फाइनलमा लियोनसँग खेल्दैछ ।

तर अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । २०१७ यता पीएसजीले तीन पटक मात्र च्याम्पियन्स लिगको अन्तिम १६ पार गरेको छ । कोभिडले असर गरेको २०२० मा फाइनल पुगेको थियो तर बायर्न म्युनिखसँग पराजित भयो । त्यसपछिको सिजनमा सेमिफाइनल पुगेको थियो र यस सिजन पनि सेमिफाइनलमै पराजित भयो ।

बीबीसी र एपीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>