अन्तर्राष्ट्रिय

कुहिएको चामल, काठको धुलो र एसिडबाट मसला बनाइरहेको ठाउँमा प्रहरीको छापा

Banner

नयाँ दिल्ली, वैशाख २४-

भारतीय मसला कम्पनी एभरेस्ट र एमडीएचको मसलामा विषाक्त तत्त्व पाइएको मामिलामा सिंगापुर, मालदिभ्स समेत कयौँ देशहरूले ती दुई कम्पनीको मसलाको प्रयोगमा बन्देज लगाएका छन् । अमेरिका, अस्ट्रेलियालगायत केही देशले भारतीय ब्रान्डका केही मसलाहरूमाथि कडाइ गरिरहेका छन् ।

यी घटनाहरू सेलाउन नपाउँदै भारतमा नक्कली मसला बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । दिल्ली प्रहरीको अपराध शाखाले महानगरभित्रै नक्कली मसला बनाउने दुई ओटा कारखानामा छापा मारेको छ । कारखानामा कुहिएको चामल, काठको धुलो र केमिकल मिसाएर मसला उत्पादन भइरहेको थियो । दुवै कारखाना दिल्लीको कारवल नगरमा रहेको बताइएको छ । यस मामिलामा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ ।

प्रहरीले करावल नगरबाट १५ टन बराबरको नक्कली मसला र कच्चा पदार्थ बरामद गरेको बताइएको छ । ती कारखानामा बनेका मसलाहरू दिल्ली–एनसीआर, उत्तर प्रदेशसमेत कयौँ राज्यमा विक्री वितरण भइरहेको थियो । प्रहरीको सूचनापछि खाद्य सुरक्षा विभागले मसलाको नमुना लिएको छ । प्रहरी छानबिनको क्रममा कारखानामा कुहिएको चामल, बजारा, नरिवल, जामुन, काठको धुलो, केमिकल र रुखको बोक्राबाट मसला तयार पार्ने गरिएको खुलासा भएको छ ।

प्रहरीले घटनास्थलबाट १ हजार ५० किलो कुहिएको चामल, २०० किलो कुहिएको बजराको पिठो, ६ किलो कुहिएको नरिवल, ७२० किलो कुहिएको धनियाँ, ५०० किलो कुहिएको बेसार फेला पारेको छ ।

७० किलो यूकलिप्टसको पात, २४ किलो साइट्रिक एसिड, ४०० किलो काठको धुलो, गाइवस्तुलाई खुवाइने चोकर २ हजार १५० किलो, ४४० किलो बिग्रिएको खुर्सानी, १५० किलो खुर्सानीको डाँठ र ५ किलो केमिकल भएको रङ्ग पनि भेटिएको थियो । यी सबै सामान मिलाएर सो कारखानामा नक्कली मसला बनिरहेको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>