समाचार

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय

Banner

काठमाडौं, वैशाख १७-

सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ ।

अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद गरेको हो । विशेष अदालतले उनको स्वास्थ्यस्थिति, आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको हो ।

विशेष अदालतले उनलाई १२ करोड ८४ लाख बिगो र त्यसको दोब्बर अर्थात् २५ करोड ६९ लाख जरिमाना हुने फैसला गरेको छ । न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप थियो ।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा १८ असार २०५६ देखि ७ मंसिर २०५७ सम्म पहिलो कार्यकाल र २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कलेजको चल–अचल सम्पत्ति ठगी गरेको र त्यसबाट प्राप्त रकमलाई शुद्धीकरण गरेको भन्दै तत्कालीन अध्यक्ष न्यौपानेलगायत ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । न्यौपानेले १२ करोड ४४ लाख १२ हजार ७ सय ५५ रुपैयाँ शुद्धीकरण गरेको भन्दै विभागले सो रकम न्यौपानेको सम्पत्तिबाट जफत गर्न, त्यसको दोब्बर रकम जरिमाना गर्न र उनलाई कैद सजाय गर्नसमेत माग गरेको थियो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनले कसुर गर्ने व्यक्तिलाई २ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम कसुरको मात्रानुसार न्यौपानेलाई कैद सजाय गर्न पनि विभागले माग गरेको थियो । अन्य ८ जनाले भने सम्पत्ति शुद्धीकरणमा सफाइ पाएका छन् । तत्कालीन सञ्चालक रामरत्न उपाध्यायले १ करोड २५ लाख ३८ हजार ६२ रुपैयाँ शुद्धीकरण गरेको भन्दै जफत गर्न र त्यसको दोब्बर रकम जरिमाना तथा कैद सजाय गर्न पनि माग गरिएको थियो ।

त्यस्तै, विभागले अर्का सञ्चालक उपेन्द्र गौतमले २ करोड २९ लाख ६७ हजार २ सय ११ रुपैयाँ शुद्धीकरण गरेकाले जफत गर्न, दोब्बर रकम जरिमाना र कैद गर्न माग गरेको थियो । यसैगरी, लवराज भट्टराईले २ करोड ७९ लाख ५५ हजार ६ सय रुपैयाँ र हरिप्रसाद पाण्डेले २ करोड ४३ लाख ४९ हजार २ सय ७ रुपैयाँ शुद्धीकरण गरेको भन्दै उनीहरू दुवैको सम्पत्तिबाट सो रकम जफत गर्न, दोब्बर जरिमाना गर्न र कैद सजाय गर्न माग गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>