Breaking News

भरतपुर भ्रमण वर्षलाई लक्षित गरेर होटलहरुको शुल्क निर्धारण, १५ देखि २५ प्रतिशत छुट

Banner

चितवन, वैशाख १३-

भरतपुर भ्रमण वर्षको लागि भरतपुरका होटलहरुको शुल्क निर्धारण गरिएको छ ।

महानगरको मेयर रेनु दाहालको कार्यकक्षमा आज भएको होटल व्यवसायीसँगको छलफलले शुल्क निर्धारण गरेको हो ।

जसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने भएका छन् । छुटको अनुपात अझ बढ्न सक्ने व्यवसायीहरुले बताएका छन् ।

महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीका अनुसार भ्रमण वर्ष घोषणापछि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका ५१ वटा कार्यक्रम मध्ये २० ओटा कार्यक्रम भरतपुरमा आयोजना भइसकेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका ठूला खेलकुद प्रतियोगिता, प्रदर्शनीहरुले भरतपुरमा मानिसहरुको चहलपहल बढेको विज्ञ सुवेदीले जानकारी दिए । उनले पर्यटन व्यवसायीहरुले रात्रिकालिन घुमिफिर गर्ने ठाउँको खोजी गरेको बताए । व्यवसायीहरुले होटल सञ्चालको समय बढाउनुपर्ने व्यवसायीसँग माग गरेका छन् । यसबारेमा छलफल गरी रात्रिकालिन घुमफिरको स्थल तय गरिने सुवेदीले बताए ।

मेघौली र जगतपुरका होटल व्यवसायीहरुले आफूहरु महानगरको छुटको प्रस्तावमा सकारात्मक बने पनि महानगरले गरेका कार्यक्रमहरु पनि बिकेन्द्रिकृत गरेर जगतपुर र गोलाघाटतिर पनि गर्नुपर्ने प्रस्ताव गरेका छन् । होटल व्यवसायी संघ मेघौलीका अध्यक्ष सन्देश चापागाइँले भ्रमण वर्षको कारणले पर्यटक अपेक्षित रुपमा बढ्न नसकेको बताए । उनले भने, ‘ हामी महानगरललाई सहयोग गर्न तयार छौं तर महानगरले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यशाला मेघौली र जगतपुर तिर हुनुपर्छ । नारायणगढ केन्द्रिकृत हुनुहुँदैन । सबै निकायको यस कार्यमा समुचित सहयोग आवश्यक पर्छ ।’

भ्रमण वर्षको लागि साँस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिको आधारमा महानगरले आफ्नो प्रमुख गन्तव्यहरू छुट्याएको छ । भरतपुरसँग दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी राप्ती तथा नारायणी, सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी, राइनोकुञ्ज भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र छन् ।

त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटदेखि मौलाकालिका मन्दिर, सामुदायिक वन, बीसहजारी ताल, नारायणी तटक्षेत्र, चौकीडाँडा, कविलासगढी, जगतपुर, बाटुली पोखरी, कसरालाई महानगरले भ्रमण वर्षको मुख्यस्थानको रूपमा प्रचार गर्दै पर्यटकीय गतिविधिहरू सञ्चालन गरिरहेको छ । यहाँको मुख्य आकर्षण जंगल सफारी र जंगली जनावर बाघ, गैंडालगायतको अवलोकन पनि हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>