देश/प्रदेश

चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै

Banner

कञ्चनपुर, चैत १४-

महेन्द्र राजमार्गअन्तर्गत चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म पर्ने १४ पुल मर्मत गरिँदै छ ।

सडक विभागको पुल महाशाखाले ठेक्का सम्झौता गरी कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मको राजमार्गमा पर्ने १४ पुल एकै साथ मर्मत भइरहेको जनाएको छ ।

विसं २०५० अघिका दुई र ५० को दशकपछिका १२ गरी १४ वटा राजमार्गमा पर्ने जीर्ण पुल सघनरुपमा मर्मत भइरहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली पुल योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सवइन्जिनियर दुर्गादत्त अवस्थीले निर्माणाधीन सबै पुल विश्व बैङ्कको प्राविधिक टोलीले मर्मतका लागि छनोट गरेको जानकारी दिनुभयो । “चौधमध्ये पाँच वटा पुलको मर्मत सकिएको छ । बाँकीमा काम भइरहेको छ”, उहाँले भन्नुभयो,” विश्व बैङ्कले जीर्ण पुलको अवस्था स्थलगतरुपमा अध्ययन गरी छनोट गरेपछि पुल महाशाखाले ठेक्कामार्फत मर्मत गरिरहेको हो ।”

यसअघि पनि सामान्यरुपमा पुल मर्मत कार्य हुने गरेपनि राजमार्गका पुलहरु विस्तृतरुपमा निर्माण भएपछि पहिलो पटक मर्मत गर्न लागिएको सवइन्जिनियर अवस्थीले बताउनुभयो । महाकाली मार्गमा पर्ने कैलालीमा थप दुई पुलको मर्मत भइरहेको पुल योजना कार्यालयले जनाएको छ ।

“विश्व बैङ्कको समूहपछि हाम्रो प्राविधिक समूहले पनि पुलको अवस्थाबारे स्थलगतरुपमा अध्ययन गरी अनुमानित लागतसहित पुल मर्मत गर्नुपर्ने कारणबारे प्रतिवेदन पुल महाशाखा पठाएका थियौँ”, अवस्थीले भन्नुभयो, “अर्को चरणमा राजमार्गका बाँकी पुल र सुदूरपश्चिमको पहाडी जिल्लामा मुख्य सडक र पुलको मर्मतको योजना छ ।”

कर्णाली नदी वारी २०५० सालपछि एकैसाथ २२ पक्की पुल नेपाल–भारत सरकारको सहयोगमा योजना कार्यालयले निर्माण गरेको जनाइएको छ ।

“बाइसमध्ये १२ पुल आगामी जेठसम्म मर्मत भइसक्छन्”, सवइन्जिनियर अवस्थीले भन्नुभयो, “मर्मतको अवधि आगामी चैत २२ गते सकिने भएपनि जेठसम्म म्याद थपका लागि विभागमा फाइल पठाएका छौँ ।” हिम–सगरमाथा निर्माण सेवाले रू १६ करोड ९३ लाखमा पुल मर्मतको जिम्मेवारी पाएको उहाँको भनाइ छ ।

त्यसैगरी महेन्द्रनगरपस्थित सडक डिभिजन कार्यालयले गड्डाचौकीबाट कर्णाली चिसापानीसम्म राजमार्गका विभिन्न स्थानमा सडक मर्मत र स्तरोन्नति जारी राखेको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले राजमार्गअन्र्तगत कैलालीको चिसापानीबाट लम्कीसम्म आवधिक मर्मत भइरहेको जानकारी दिनुभयो । “सो खण्ड रू सात करोडमा ठेक्का भएर काम भइरहेको छ”, उहाँले भन्नुभयो, “वैशाखसम्म आवधिक मर्मत सकिन्छ ।”

प्रमुख सुवेदीले गड्डाचौकीबाट चिसापानीसम्मको एक सय २८ किलोमिटर राजमार्गमा पर्ने विभिन्न स्थानमा सडक मर्मत भइरहेको बताउनुभयो । “गत वर्ष ठेक्का भएर गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिकासम्म ठाउँठाउँमा राजमार्ग चौँडा गरिएको छ”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिका लागि गत वर्ष रू छ करोडमा ठेक्का दिइएको थियो ।”

सडक डिभिजन कार्यालयका प्रमुख सुवेदीले नदी, खोला तथा नालाबाट उत्खनन् गरेर ल्याइने नदीजन्य पदार्थ ढुवानीका क्रममा राजमार्गमा पानी छरिँदा बिग्रिने गरेको बताउनुभयो । “ट्रिप्पररट्रकमा बालुवा, ग्राइभेल बोक्दा पानीसहित ल्याउन नदिन प्रशासनसँग अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “यसरी झर्ने पानीले गर्मी भन्दा पनि हिउँदमा राजमार्गमा जमेर खाल्डाखुल्डी हुने र सडक भत्किने गर्दछ ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>