खेलकुद

गैँडाकोट हाफ म्याराथनको उपाधिको नेपाली सेनाका रोकायालाई

Banner

नवलपुर, पुस १५-

गैँडाकोट हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक राजन रोकायाले जित्नुभएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको हाफ म्याराथनको २१ किलोमिटर दूरी उहाँले एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभयो । विजेता रोकायाले नगद रु एक लाखसहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।

गैँडाकोटको विजय फाउण्डेशनले आज आयोजना गरेको प्रतियोगितामा नेपाली सेनाकै धावक नरेन्द्र सिंह रावत दोस्रो हुनुभयो । रावतले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गर्दै रु ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगितामा निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५२ सेकण्डमा पूरा गर्दै काठमाडौँ धापासीका अजितकुमार यादव तेस्रो हुनुभयो । यादवले रु २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिनुभयो । त्यस्तै महिलातर्फ हाफ म्याराथनमा सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो हुनुभएको छ ।

निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो हुनुभएकी चौधरीले रु २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको सापकोटाले बताउनुभयो । हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्ने) थप सात जनालाई समेत नगद रु पाँच हजारसहित पुरस्कृत गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । प्रतियोगितामा दुई सय ५० जनाले सहभागिता जनाएका थिए । निर्धारित दूरी पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको सापकोटाले जानकारी दिनुभयो ।

साथै गैँडाकोट हाफ म्याराथन अन्तर्गत विद्यार्थीमैत्री पाँच किलोमिटर दौड प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का प्रेमलाल कोहार पहिलो हुनुभएको छ । कोहारले निर्धारित दूरी १५ मिनेट १९दशमलव ७८ सेकेण्डमा पूरा गर्दै रु १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा १५ मिनेट ३६ दशमलव ६६ सेकेण्डमा दूरी पार गर्दै तनहुँ ऋषिङका अमृत विक दोस्रो हुनुभयो । विकले नगद रु पाँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सो प्रतियोगिताको दूरी १५ मिनेट ५५ दशमलव ३७ सेकेण्डमा पूरा गर्दै काठमाडौँ चन्द्रागिरिका अनुज महत तेस्रो हुनुभएको छ । उहाँले रु तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा एक सय ८० जना विद्यार्थीको सहभागिता थियो ।

हाफ म्याराथन र विद्यार्थी मैत्री दौडका विजेताहरुलाई गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटा, अन्तर्राष्ट्रिय धावक वैकुण्ठ मानन्धरलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

त्यस अवसरमा नगरप्रमुख अधिकारीले खेलकुदका माध्यमबाट व्यक्ति स्वस्थ हुनुका साथै राष्ट्रको नाम विश्वसामु चिनाउन मद्दत गर्ने बताउनुभयो । गैँडाकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी गरेको भन्दै नगरको लगानीबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले विजय फाउण्डेशनको आयोजनामा हरेक वर्षको पुस १५ गते हाफ म्याराथनको आयोजना गरिने जानकारी दिनुभयो । आगामी वर्षबाट म्याराथनलाई थप परिस्कृत गर्दै लैजाने सापकोटाको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>