खेलकुद

साग सञ्चालन र व्यवस्थापनको तयारी सकियो: मन्त्री विश्वकर्मा

Banner

काठमाडौं, मंसिर १२-

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् ।

रिपोटर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भइसकेको जनाएका हुन् । उनले भने, ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समुद्घाटन गर्नुहुनेछ ।’ साक्षात्कारमा मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए । १३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाइ छ । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भइसकेको पनि उनले जनाए । उनकाअनुसार महिला र पुरुष भलिबलका खेलहरु सुरु भइसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो’, उनले भने ।

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने,‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’ उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउने गरी सिंगार्ने काम पनि भइरहेको जानकारी दिए ।  उनले उद्घाटन समारोहमा देशका ख्यातिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । उनले भने,‘सबै हिसाबले तयारी पूरा भइसकेको छ ।’

सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए । सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाुहनालाई बिदाइ गरिने कार्यक्रम रहेको उनको भनाइ छ । सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिइएको उनले बताए । मन्त्री विश्वकर्माले भने, ‘हामीले सागलाई पर्यटन वर्षको प्रर्वद्धनको रुपमा पनि जोडेर हेरेका छौं ।’

दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराइने तयारी रहेको पनि उनले जनाए । उनले भने,‘सागमा आउने पाहुना, खेलाडीलाई नेपालका प्राकृतिक सुन्दरतासँग भौतिकरुपमा साक्षात्कार गराउने तयारी छ ।’ साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहासिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए । सागलाई व्यवस्थित गर्नको लागि स्वयमसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि उनले स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>