नवलपुर

नारायणगढ–बुटवल सडक विस्तारमा समस्या: नवलपुर क्षेत्रका १९ खानेपानी आयोजनामा नौं करोड बढीमूल्यको क्षति हुने

Banner

ज्ञानु पंगेनी

नवलपुर, भदौ ४-

नारायणगढ–बुटवल चार लेन सडक विस्तारका क्रममा नवलपुरको सडकको दुवै किनारमा रहेका खानेपानी आयोजनाको करोडौं मूल्यका पाइपलाइनमा क्षति पुग्ने देखिएको छ ।

सडक आयोजनाको तर्फबाट गरिएको अध्ययनमा यो पाइएको हो । केहि दिनअघि मात्रै सर्वेक्षणको काम सकिएको आयोजनाका अनन्त कँडेलले जानकारी दिए । सर्वेको टिपोट संकलन गरेर माथि पठाउने तयारी गरिएको कँडेलले बताए । ती टिपोटहरुलाई केलाएर के – कति क्षति हुने, त्यसको क्षतिपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने कुरा माथिल्लो निकायले गर्ने भएकाले पूरा विवरण आउन अझै केही समय लाग्ने कँडेलले बताए ।

सडकको दाँयाबाँया केन्द्र बिन्दुबाट पाइपलाइन कति मिटरको दूरीमा छ ? पिच गर्ने भागमा पर्छ कि ? फुटपाथमा पर्छ ? भन्ने कुराको निक्र्योल गर्न सर्वे भएको कँडेलले जानकारी दिए । सर्वेका क्रममा सबैभन्दा नजिक गैँडाकोट क्षेत्रमा केन्द्रबिन्दुबाट सात मिटको दुरीमा नै पाइपलाइन रहेको पाइएको र अन्य स्थानमा पनि कतै १५ देखि २३ मिटरको दूरीमै पाइप लाइन रहेको पाइएको कँडेलले बताए ।

नारायणगढ – बुटवल चार लेन सडक विस्तार हुँदा नवलपुर जिल्लाको राजमार्ग दायाँबायाँ रहेका १९ खानेपानी आयोजना प्रभावित हुने प्रगतिनगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा समन्वय समिति संयोजक खिमानन्द भुषालले बताए । १९ वटै खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाले आफ्नो – आफ्नो अनुमानित क्षति आफैले निकालेका छन् । १९ वटै आयोजनाको गरेर कूल ९ करोड ९२ लाख ७२ हजार ३४ रुपैयाँ ७६ पैसा बराबरको अनुमानित क्षति हुने संयोजक भुषालले जानकारी दिए ।

यस्तै सडक विस्तारका क्रममा पानी वितरणमा प्रभाव पार्ने घरधुरी दुई हजार ५००, प्रत्यक्ष प्रभावित धाराको संख्या चार हजार दुई र ५७ हजार ६४० मिटर पाइपलाइनमा क्षति पुग्ने अनुमान गरिएको भुषालले बताए । सबैभन्दा बढी मुकुन्दपुर खानेपानी आयोजनाको दुई करोड ८२ लाख ९२ हजार ६९८ रुपैयाँको अनुमानित क्षति निकालिएको छ भने त्यसपछि कावासोती खानेपानीको दुई करोड ६७ लाख एक हजार ४२१ रुपैयाँ क्षति निकालिएको छ ।

सडक विस्तारका क्रममा दायाँबायाँ पर्ने खानेपानी पाइपको संरचनाको दिगो विकास, भल्भ चेम्बर, हाउसहोल्ड कनेक्सनमा प्रभाव पर्ने भएकाले खानेपानीको आपूर्तिमा समस्या आउन सक्ने हुँदा आफूहरुले सम्बन्धित निकायलाई अनुमानित क्षति सहित ध्यानाकर्षण गराएको भुषालको भनाइ छ । आयोजनामा पुग्ने क्षतिका बारेमा क्षतिपूर्ति दिने कुरा आए पनि उपभोक्तालाई हुने क्षतिका बारेमा आयोजनाका तर्फबाट कुनै कुरा नआएकाले उपभोक्तालाई पुग्ने क्षतिसमेत ब्यहोर्नु पर्ने माग आफूहरुको रहेको भुषालको भनाइ छ । खानेपानी जस्तो अत्यावश्यकीय आवश्कताका बारेमा सडक आयोजनाको तर्फबाट छिटोभन्दा छिटो यकिन क्षतिको विवरण निकालेर क्षतिपूर्ति उपलब्ध गराएमा आफूहरुले समयमै काम सुरु गरेर उपभोक्तालाई खानेपानी आपूर्तिमा कुनै समस्या नहुने वातावरण सृजना गर्न सकिने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भीमलाल कँडेलले बताए ।

सडक विस्तारका क्रममा नवलपुरको राजमार्ग आसपासमा रहेका प्रगतिनगर खानेपानी, दिब्यपुरी खानेपानी, कावासोती खानेपानी, तम्सरिया खानेपानी, अरुणखोला खानेपानी, अग्यौली खानेपानी, रजहर खानेपानी, विजयनगर खानेपानी, कुढौली खानेपानी, नयाँ बेलहानी खानेपानी, तमासपुर खानेपानी, अमरापुरी खानेपानी, कुसुण्डे खानेपानी, दुम्कीबास खानेपानी, आँपचौर खानेपानी, गैँडाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालगायतका संरचनामा क्षति पुग्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>