Breaking News

अनुमति नै नलिइ विद्यार्थी भर्ना गर्दै लिटिल फ्लावर स्कूल,नगरपालिका भन्छः कारवाही गर्छौ

Banner

नवलपुर, वैशाख १३-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–२ मा सञ्चालित लिटिल फ्लावर स्कूल सेहरीले अनुमति बिनै भर्ना खुला गरेको छ । शैक्षिक शत्र २०८० का लागि कक्षा १ सम्ममात्रै अनुमति लिएको विद्यालयले यस शैक्षिक शत्रमा अनुमति बिनानै कक्षा २ मा भर्ना खुला गरेको हो ।

मध्यविन्दु नगरपालिका नगर शिक्षा शाखाका शिक्षा अधिकृत कृष्ण रेग्मीका अनुसार उक्त विद्यालयले कक्षा २ सञ्चालनका लागि अनुमति लिएको छैन । “मध्यविन्दु–२ मा रहेको सो विद्यालयले गत शैक्षिक शत्रमा कक्षा १ सम्मका लागिमात्रै अनुमति लिएको छ” रेग्मीले भन्नुभयो, “कक्षा २ सञ्चालनका लागि विद्यालयले हामीसँग अनुमति लिएको छैन र अनुमतिका लागि निवेदनसमेत दिएको छैन ।” कक्षा थपका लागि विद्यालयले हरेक वर्ष अनुमति लिएर भर्ना खुला गर्नुपर्ने शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भएको उहाँले बताउनुभयो ।

अनुमति बिना विद्यालयले कक्षा २ मा भर्ना खोलेको विषयमा कुनै जानकारी नआएको भन्दै रेग्मीले अनुमति बिना कक्षा सञ्चालन गर्न नपाइने बताउनुभयो । “यस सम्बन्धी हामीलाई कुनै गुनासो तथा उजुरी आएको छैन” उहाँले भन्नुभयो, “यस सम्बन्धमा हामीले बुझेर कानूनी प्रकृया अगाडि बढाउँछौँ ।” विद्यालयले अघिल्लो शैक्षिक शत्रबाट नै बल मिच्याइँको आधारमा कक्षा सञ्चालन गरेको स्थानीय बताउँछन् ।

अनुमति नै नलिइ कक्षा २ मा नयाँ भर्ना खोलेको विषयमा लिटिल फ्लावर स्कूल सेहरीका प्राचार्य फादर रोबी कूले अघिल्लो शैक्षिक शत्रमा पनि अन्तिममा अनुमति लिएको उल्लेख गर्दै यस शैक्षिक शत्रको पनि अन्तिममा अनुमति लिने बताउनुभयो । “हामीले गत वर्षबाट कक्षा सञ्चालन गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “कक्षा १ सम्म अनुमति पाएका छौँ, कक्षा २ मा अनुमति लिने तयारी गरेका छौँ ।” अहिले प्रिस्कूल (प्लेग्रुप)देखि कक्षा २ सम्म ८० जना बालबालिका विद्यालयमा भर्ना भएका उहाँले बताउनुभयो ।
धार्मिक संस्था ‘नेपाल लिटिल फ्लावर सोसाइटी’ काठमाडौँद्वारा लिटिल फ्लावर स्कूल सेहरी सञ्चालनमा रहेको छ । यस संस्थाले चितवनको नारायणगढ, रत्ननगर, पर्साको वीरगञ्जमा समेत विद्यालय सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>