गण्डकी
तनहुँमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न योजना छनौट

दमौली, जेठ ३०-
तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सुरु भएको सो कार्यक्रममार्फत शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौँडादेखि शव दाहघाटसम्म जाने सिढी निर्माण थालिएको छ । उक्त वडाका २२ जनाले न्यूनतम रोजगारमा सङ्लग्न हुन निवेदन दिएकोमा १० जनालाई काममा खटाइएको रोजगार सेवा केन्द्रका प्रमुख प्रतिभा जिसीले जानकारी दिइन् । जिसीका अनुसार शुक्लागण्डकी नगरपालिका–२ मा रोजगार कार्यक्रममार्फत सामुदायिक भवन निर्माण सुरु भएको छ । उक्त भवन निर्माणका लागि ११ जनालाई खटाइएको छ ।
उनले भने, “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिढी निर्माण र सामुदायिक भवन निर्माणको काम सुरु भएको छ । नगरपालिकाका अन्य वडाहरुमा समेत केही दिनभित्रमा काम सुरु हुनेछ ।’ पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ बमोजिम शुक्लागण्डकीमा मोटरमार्ग, नाला, सिढी, पाइप विस्तार, कुलोमर्मत लगायतका योजना छनौट गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा नगरपालिकालाई २९ लाख बजेट प्राप्त भएको छ ।
यस कार्यक्रमअन्तर्गत वडा नं १ मा फेदी अर्चले मोटरमार्ग, २ मा सामुदायिक भवन निर्माण, ३ मा पौवा कवासे नाला निर्माण, ४ मा सिढी निर्माण, ५ मा व्यावसायिक कृषकको खोर निर्माण, ६ मा शान्तिकुनामा सिढी निर्माण, ७ मा दलित बस्ती, टुडा घुम्ती नाला निर्माण, ८ मा ढोरफिर्दी खानेपानी योजना ट्याङ्की निर्माण तथा पाइप विस्तार, ९ मा साउन कुनादेखि सारीकुनासम्म कुलो मर्मत, १० मा कोलम्फे गाउँपोखरी चौतारो निर्माण, ११ मा ढुङ्ढुङ्गे सिँचाइ जरेवर, मुहान तथा कुलो मर्मत र १२ मा रातामाटादेखि पौवासम्म बाटो मर्मत गर्नेसम्मको योजना छनौट गरिएको छ ।
उक्त योजनाहरुमा काममा खटिने बेरोजगारका लागि वडा नं १ र ४ मा रु तीन÷तीन लाख, वडा नं २, ३, ५, ६, ७, ८, ९, १०, १२ मा रु दुई÷दुई लाख र वडा नं ११ मा ५ लाख बजेट विनियोजन गरिएको छ । जिल्लाको बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ भइसकेको छ भने अन्य स्थानीय तहमा समेत सुरु हुने तयारीमा छ । रासस