खैरहनी

मेयरको १ वर्षको तलब विद्यालयलाई

Banner

बैशाख २२, २०७६

गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले आफूले नगरपालिकाबाट पाउने एक वर्ष बराबरको पारिश्रमिक विद्यालयलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ५० वर्ष पार गरेको उपलक्ष्यमा आयोजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उहाँले विद्यालयमा अध्ययनरत आर्थिक अवस्थाबाट कमजोर रहेका विद्यार्थीका लागि सो रकम उपलब्ध गराउने घोषणा गरेको हो । आर्थिक अवस्थाका कारण कुनै पनि विद्यार्थी पढनबाट बञ्चित हुन नपरोस भन्ने ध्येयले आफूले पाउने एक वर्ष बरावरको कुल तलब उक्त विद्यालयलाई प्रदान गरिने नगरप्रमुख महर्जनले बताउनुभयो ।

अहिलेको जमानामा शिक्षाविना कुनै पनि विकास निर्माण दिगो हुन नसकिने भएकाले शिक्षामा लगानी प्रचुर मात्रामा हुनु पर्नेमा उहाँको जोड थियो । राज्यले शिक्षा क्षेत्रमा प्रदान गरिदै आएको बजेटलाई सही मार्गमा सदुपयोग गरी गुणस्तर शिक्षा ल्याउनमा शिक्षक–शिक्षिकाको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ रहेको छ ।

विशेष गरी निजी विद्यालयको जस्तो गुणस्तर शिक्षा सामुदायिक विद्यालयले दिनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि नगरपालिकाले शिक्षा नियमवाली ल्याएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले नियमवालीभित्र टेकेर नगरक्षेत्रका हरेक विद्यालयले आफ्नो क्रियाकलाप गरिनुपर्ने बताउनुभयो । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका नगरप्रमुख महर्जनले विद्यालय सुधारका लागि समयानुकूल आवश्यक कदम चालिनुपर्ने समेत बताउनुभयो ।

स्वर्ण जयन्तीको अवसर पारेर विद्यालयले प्रत्येक कक्षाका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरेको थियो । सोही अवसरमा विद्यालयमा आयोजित विभिन्न खेलकुदमा सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । यसै गरी विद्यालयले नगरप्रमुख गजेन्द्र महर्जनलाई मायाको चिनो प्रदान गरेको थियो । स्वर्ण जयन्तीमा समुदायका अभिभावक, बुद्धिजीवी, समाजसेवी, पूर्वविद्यार्थी, नागरिक समाजलगायत शुभचिन्तकहरुको उपस्थिति रहेको विद्यालयका अध्यक्ष रविन्द्र महर्जनले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>