समाचार
वीर अस्पतालमा पालमुनि स्वास्थ्य जाँच : न बिरामीको ‘प्राइभेसी’, न गुणस्तरीय सेवा

काठमाडौं– काठमाडौंको महांकालस्थित वीर अस्पतालको भवन, हेर्दा ठूलो र चिटिक्क परेको छ । अस्पतालको प्रवेशद्वारदेखि नै बिरामीहरुको भीड लागेको छ । तर ठूलो र चिटिक्क परेको अस्पतालको भवनको बाहिर कपडाको पाल टाँगिएको छ ।
अस्पतालको आँगनमै बिरामीहरु सेतो कागज बोकेर लाइन लागेका छन् । सेतो कोट लगाएका वीर अस्पतालका केही चिकित्सकहरु पाल मुनि बसेर बिरामी जाँच्दै थिए । पालले छेक्न नसकेको चैतको चर्को घामले बिरामी र चिकित्सक दुवैको अनुहारलाई थकित बनाएको छ । बिरामी जाँच्न अस्पतालको आँगनमै बसेका चिकित्सकको अनुहार पसिनाले रुझेको प्रष्टै देखिन्छ ।
कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत नै हुनुपर्ने माग राख्दै सरकारी चिकित्सक आन्दोलित बनेको आज (शुक्रबार) एक साता भयो । सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द हुँदा लाखौं बिरामीले समयमै उपचार सेवा पाउनबाट वञ्चित भएका छन् ।
लामो समयदेखिको चिकित्सकको आन्दोलनले सरकारी अस्पताल अस्तव्यस्त बनेपछि बुधबार राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)ले प्रहरी परिचालन गरेरै वीर अस्पतालको ओपीडी (बहिरंग) सेवा विभागको टिकट खुलायो । प्रहरी परिचालन गरी टिकट खुलाइए पनि वीर अस्पतालका चिकित्सकहरु आफ्नो कार्यकक्षमा बिरामीको स्वास्थ्य परिक्षण गर्न गएनन् ।
अस्पतालको सेवा नै बन्द गराएर चिकित्सकहरु आन्दोलित बनेपछि बिरामीहरुले सरकारी चिकित्सकको आलोचना गर्न थाले । त्यसपछि सरकारी चिकित्सक संघले बुधबारदेखि टिकट काउन्टर बन्द गराएपनि अस्पताल बाहिर नै पाल टाँगेर बिरामीको स्वास्थ्यजाँच गर्न शुरु गर्यो ।
वीर अस्पतालको ओपिडि टिकट काउन्टर आज (शुक्रबार) पनि बन्द छ । टिकट काउन्टर नजिकै सरकारी चिकित्सक संघका एक जना प्रतिनिधि सेतो कागज र छाप बोकेर बसेका छन् ।
गोदानका ती प्रतिनिधिले खाली कागजमा बिरामीको नाम लेखेर गोदानको छाप लगाउँदै पालमुनि स्वास्थ्य जाँच गर्न पठाउँछन् । सरकारी चिकित्सक संघले बिरामीलाई उपचार सेवा दिन बाहिर नै पाल टाँगेर उपचार गर्न बसेको बताएको छ ।
तर वीर अस्पतालमा पुग्ने बिरामीले प्रभावकारी उपचार सेवा पाउँन सकेका छैनन् । विभिन्न स्वास्थ्य समस्या लिएर वीर अस्पताल पुगेकाहरु पालमुनि आफ्नो रोगको उपचारका लागि चिकित्सक खोज्दै भौतारिरहेका छन् ।
ओखलढुंगाबाट स्वास्थ्यजाँचका लागि गत शुक्रबार नै वीर अस्पताल आएका सैनध्वोज कटुवालले एकसातापछि बल्लतल्ल चिकित्सकलाई भेट्न पाए । अस्पतालको पालमुनि भेटिएका चिकित्सकले थप स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको बताएका छन् ।
‘एकसाता अघि ओखलढुंगाबाट जचाउँन आएको थिए, अघिल्लो शुक्रबार डाक्टरको आन्दोलन भनेर जचाउँन पाइएन, आज बल्लतल्ल पालमुनि डाक्टर भेटिए,’ कटुवालले भने, ‘अझै अरु के के जाँच गर्न बाँकी छ रे, आज उपचार नहुने भयो । खै कहिलेसम्म बस्नुपर्ने हो ।’
कटुवाल जस्तै विभिन्न जिल्लाबाट आएका बिरामीहरु वीर अस्पतालमा अलपत्र जस्तै छन् । एक सातादेखि उपचार गर्न नपाएका बिरामीहरु पालमुनि नै भएपनि चिकित्सक खोज्दै हिँडिरहेका छन् ।
रामेछापकी कल्पना खड्का गोदानले दिएको कगज बोकेर आधा घण्टादेखि आफ्नो रोग जाँच्ने चिकित्सक खोज्दै थिइन् ।
‘थाइराइडको समस्या थियो, छामेछापबाट उपचारकै लागि आएको तीन दिन भयो, दुई दिनसम्म उपचार नगरी फर्किएँ,’ खड्काले खबरहबसँग भनिन्, ‘बाहिरै भएपनि आज त जचाँउन पाइन्छ कि भनेको आधा घण्टा भयो, डाक्टर खोज्दा खोज्दा हैरान भइसकेँ, कहाँ जाने ? कस्लाई देखाउने ? अन्योलमा छु ।’
सम्पन्न व्यक्तिहरु नीजि र महँगो अस्पतालमा गएपनि आफूहरुजस्ता बिरामीहरु समस्यामा परेको खड्काले बताइन् ।
‘पैसा हुनेहरु त महँगो अस्पतालमा जान्छन्, हामीजस्ता टाढाबाट आएका गरिब बिरामीहरुले जस्तो समस्या पनि भोग्नुपरेको छ,’ खड्काले दुखेसो पोखिन्, ‘टिकट पनि छैन, कुन डाक्टरले जाँच्छ त्यो पनि थाहा छैन, छाप लगाएको खाली कागज बोकेर कता कता दौडिन पर्ने हो थाहा छैन ।’
वीर अस्पतालको आँगनमा पालमुनि भइरहेको स्वास्थ्य परीक्षण विकट क्षेत्रमा हुने स्वास्थ्य शिविर जस्तो सुविधायुक्त पनि छैन । पाल भित्र भइरहेको स्वास्थ्य परीक्षण देखाउनका लागि मात्रै राखिएको जस्तो देखिन्छ ।
चर्को घाममा पसिना निकाल्दै बिरामी जाँचिरहेका चिकित्सकहरु बिरामीले राम्रो सेवा पाउन नसकेको स्वीकार गर्छन् ।
‘बिरामी जाँच्न समस्या छन् कतिपय बिरामीको प्राइभेट अंग हेरेर स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ, खुल्ला ठाउँमा बिरामीको अनुहार र नाम हेरेर रोगको परीक्षण गर्न सकिने अवस्था छैन,’ पालमुनि बिरामी हेरिरहेका एक चिकित्सकले भने, ‘पालमुनि जाँच्नुपर्दा हामी चिकित्सक र बिरामी दुवैलाई असहज भइरहेको छ ।’
समायोजन प्रक्रियामा असन्तुष्ट रहेका चिकित्सकलाई सरकारले गुनासो गर्नका लागि बैशाख ५ गतेसम्मको समय दिएको छ । असन्तुष्ट रहेको विषयमा गुनासो गर्न सकिने व्यवस्था गरिए पनि सरकारी चिकित्सकहरु आफ्नो माग पूरा नभएसम्म अस्पताल बन्दको कार्यक्रम फिर्ता नलिने अडानमा छन् ।