राजनीति

जनअपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्छः प्रधानमन्त्री

Banner

काठमाडौँ, असार १६-

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले देशका अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले परिवर्तनको आन्दोलनमा योगदान गरेका नेताले जनअपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिने जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका नेताले अझ ठूलो परिवर्तनका निम्ति एवम् नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरी एकपटक सङ्कल्प लिन र एकताबद्ध हुन जरुरी छ ।”

सबै लोकतन्त्रवादी एवम् देशभक्त शक्ति राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा एवम् राष्ट्रिय आत्मसम्मानका निम्ति एकठाउँमा उभिन जरूरी रहेको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्न केन्द्रित हुन आह्वान गर्नुभयो ।

देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै अध्यक्ष दाहालले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादी विचार र सही राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिष्ट एकता, राष्ट्रिय एकता एवम् राष्ट्रको समुन्नतिका निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न एकीकृत समाजवादीलाई सुझाव दिनुभयो । “देशमा केही भएको छैन, केही छैन, केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी र प्रतिगमनकारी भाष्य हो”, उहाँले भन्नुभयो, “भ्रष्ट्राचार अभियानलाई निस्तेज पार्ने किसिमका प्रचारवाजी गरिएका छन्, यो गलत छ, त्यसकारण राम्रा कामलाई राम्रो भन्न सक्नुप¥यो, नराम्रालाई नराम्रो भनेर आलोचना गर्नुप¥यो ।”

हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले परिस्थितिअनुरूप विश्लेषण गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एकता, सङ्घर्ष र रूपान्तरणसहित नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढेको छ, यसमा हामी भुक्तभोगी नै छौँ । हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छौँ, त्यसैले अतितमुखी होइन, भाविष्यमुखी भएर सोच्छौँ । हामी निराशावादी होइन, आशावादी भएर सोच्छौँ । क्रान्तिकारितासहितको आशावादिता कम्युनिष्टको विशेषता हो ।”

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशका सबै देशभक्त र क्रान्तिकारी एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न लाग्नुुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नका लागि पनि एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>