Breaking News

पोखराको प्रयोगशालाले थेग्न नसकेपछि भरतपुरबाट कोरोना परीक्षण

Banner

पोखरा, असार ६-

पोखराको प्रयोगशालाले कोरोना परीक्षण थेग्न नसकेपछि पर्वतमा संकलन गरिएको स्वाबलाई भरतपुर पठाइएको छ ।

पोखरामा ढिलो हुने भएपछि पर्वतमा संकलन गरिएको स्वाब पनि भरतपुर पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रकाशन गरेको दैनिक गतिविधिमा पोखरामा रहेको प्रयोगशालामा मात्र एक हजार ४५२ जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी छ।

उक्त स्वाब विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनमा भारतलगायतका स्थानबाट आएर बसेका नागरिकका हुन्। पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एउटा र प्रदेश क्षयरोग उपचार केन्द्रमा दुइटा आरटी पीसीआर मेसिनले अहिले स्वाब परीक्षण गरिरहेको छ।

यसअघि एउटा मात्र पीसीआर मेसिनबाट दैनिक १५० वटा स्वाब परीक्षण गर्ने गरिएकोमा अहले तीनवटा आरटी पिसिआर मेसिनबाट दैनिक ४०० वटा स्वाब परीक्षण गर्न थालिएको छ।

प्रदेश सरकारले २ वटा आरटी पीसीआर मेसिन खरिद गरेर क्षयरोग उपचार केन्द्रमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापना गरेको थियो। नयाँ प्रयोगशाला चलाउन ल्याब टेक्निसियनलगायत १९ जना स्वास्थ्य प्राविधिक करारमा भर्ना गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले बताए। ‘हामीसँग ८ जना मात्र ल्याब प्राविधिक हुनुहुन्थ्यो, प्रयोगशाला चलाउन नयाँ १९ जना भर्ना गर्‍यौं,’ उनले भने, ‘अहिले २८ जनाले प्रयोगशालामा काम गर्दै हुनुहुन्छ।’

भारतलगायत विभिन्न स्थानबाट गाउँ फर्कने नागरिकको संख्या बढेसँगै स्वाब संकलन पनि बढिरहेको छ। यस्तै नयाँ प्रयोगशाला स्थापना गरेर परीक्षण क्षमता पनि बढाएको छ। तर स्वाब संकलनको अनुपातमा परिक्षण क्षमता नबढेका कारण पोखरास्थित दुईवटै प्रयोगशालाले स्वाबको चाप थेग्न सकेको छैन।

मादी गाउँपालिकाका एक जना १९ महिने बच्चालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भयो। उनका बुबा भारतबाट जेठ २४ गते आएर मादी ९ मुग्रीबेसीको क्वारेन्टिनमा बसेका थिए। गाउँपालिकाका स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बसेकाहरुको जेठ ३२ गते स्वाब संकलन गरेर पोखरा पठायो।

स्वाब संकलनका क्रममा ती युवाले आफूले परिवारलाई पनि भेटेको भनेपछि परिवारको पनि स्वाब संकलन गरियो। उनको श्रीमती र १९ महिने बच्चासहितको स्वाब परीक्षण गर्न पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला पठाइएको थियो। परीक्षणमा क्वारेन्टिनमा बसेका पुरुष र उनकी श्रीमतीको रिपोर्ट नेगेटिभ आयो तर १९ महिने बच्चाको रिपोर्ट पोजेटिभ आयो।

‘बच्चाका बुबालाई कोरोना संक्रमण भएर पनि एन्टिबडी बिकास भएको हुनुपर्छ,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले भने, ‘हामीले बच्चाबाट परिवारमा सर्न नदिन छुट्टै राखेका छौं।’

पोखरास्थित प्रयोगशालामा स्वाब थुप्रिएपछि अस्पतालबाटै उनीहरुको स्वाब परीक्षण गर्न काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। स्वाब पठाएको ६ दिनमै उनीहरुको रिपोर्ट आएको बरालले बताए।

मादी गाउँपालिकाकै अर्को क्वारेन्टिनमा रहेकाहरुको स्वाब पठाएको रिपोर्ट भने १२ दिनसम्म पनि आउन सकेको छैन। मादी १२ राम्चेको क्वारेन्टिनमा जेठ १४ गते आएर बसेकाहरुको स्वाब संकलन गरेर गाउँपालिकाले २६ गते पोखरास्थित प्रयोगशालामा पठाएको थियो।

पोखरास्थित प्रयोगशालामा स्वाबको लोड बढी भएर नै उनीहरुको अहिलेसम्म परिक्षण नभएको जनाएको छ। ‘स्वाब पठाएको १३ दिनसम्म पनि रिपोर्ट आएको छैन,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बरालले सेतोपाटीलाई भने, ‘रिपोर्ट नआउँदा २४ दिनदेखी उहाँहरु क्वारेन्टिनमै बस्नुपरेको छ।’

मादी गाउँपालिकामा अहिले १९ जना क्वारेन्टिनमा छन्। जसमध्ये १५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>