गण्डकी

ओलीको भूमि फिर्ता ल्याउने वास्तविक परीक्षा अब: डा. भट्टराई

Banner

गोरखा, असार १-

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ नक्सामा समेटिएको नेपाली भूमिको भोगाधिकार फिर्ता लिन भारतसँग क्षमता र कौशल प्रयोग गरेर वार्ता गर्नुपर्ने बताएका छन् ।

खोसिएको भूमि व्यावहारिक रूपमा फिर्ता लिन प्रधानमन्त्रीको वास्तविक परीक्षा अब सुरु भएको उनले प्रतिक्रिया दिएका छन् । ‘प्रधानमन्त्रीलाई हात बलियो पार्न हामी सबैले साथ दिएका छौँ, नक्सामा त हामीले भूगोल समेट्यौँ,’ गृहजिल्ला गोरखा आइपुगेका उनले सोमबार पत्रकार भेटघाटमा भने, ‘सही अर्थमा देशभक्तको परीक्षा दिने हो भने सरकारले अब सवै चातुर्य, कौशल र जिम्मेवारी प्रयोग गरेर भारतसँग वार्ता गर्नुपर्छ ।’

नेपाल–भारत सीमा विवादमा वार्ताको वातावरण बनाउन सहजीकरणका लागि आफू तयार रहेको पनि उनले बताए । ‘राजनीतिक तहबाट वार्ताको वातावरण बनाएर कूटनीतिक पहलबाट भूमि फिर्ता ल्याउनुपर्छ,’ उनले भने, ‘दुई सरकारका प्रतिनिधिको वार्ता नै प्रमुख हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारी प्रवृत्ति त्याग्नुपर्ने पनि भट्टराईले बताए । ‘गत कात्तिकमा नेपालको भूभाग समेटेर भारतले नक्सा जारी गरेपछि बसेको सर्वदलीय बैठकमा आन्तरिक तयारी गरेर कूटनीतिक पहल गरिहालौं भनेका थियौँ, सर्वसम्मति पनि बनेको थियो,’ उनले भने, ‘दुःखका साथ भन्नुपर्छ, प्रधानमन्त्री कसैको सुझाव सुन्नुहुन्न, उहाँमा अल्पज्ञान र अहंकारको सम्मिश्रण छ ।’ महाकाली सन्धिमा प्रधानमन्त्री ओली चुकिसकेकाले क्षमायाचनासहित समस्या समाधानका लागी पहल गर्नुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>