Breaking News

लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै चितवन, सातवटै पालिकामा नियन्त्रण महाअभियान सुरु

Banner

चितवन, वैशाख १५–

लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको चितवनमा लागुऔषध निष्तेज पार्ने अभियान सुरु भएको छ ।

जिल्लामा लागुऔषधको प्रयोगकर्ता युवाको संख्या बढेसँगै चितवन प्रशासनको नेतृत्वमा तीन महिने महाअभियान सुरु गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज तीन महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गरेकी छन् । सो अवसरमा महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागुऔषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताइन् ।

उनले सडक मानवमुक्त पहिलो महानगर जस्तै लागुऔषध नियन्त्रणमा पनि देशको उदाहरणीय काम गर्नुपर्नेमा जोड दिइन् । अभियानमा महानगरपालिकाको तर्फबाट आवश्यक साथ सहयोग र सहकार्य हुने प्रमुख दाहालले प्रतिबद्धता व्यक्त गरिन् ।

विकृति विसंगति रहित समाजको निर्माण, युवा वर्गलाई लागुऔषधको दलदलबाट बाहिर ल्याई लागुऔषध मुक्त समाजको निर्माण गर्नका लागि अभियान प्रभावकारी हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताए । चितवनका सात वटै स्थानीय सरकारले तीन महिने अभियानका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरेको छ । पछिल्ला वर्षमा लागुऔषध ओसार पसार, कारोबार एवम् सेवनका घटन बढ्दै गएपछि जिल्लामा नै पहिलो पटक सात वटै पालिकालाई लक्षित गरी लागुऔषध विरुद्धको महाअभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।
चितवन अदृश्य तवरले लागुऔषधको ट्रान्जिट पोइन्ट देखियो थापाले भने, ‘चितवनकै सात वटै स्थानीय तहको टोलटोल, वडा वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप सचेतनामूलक कार्यक्रम हुनेछ ।’
महाअभियानअन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ गर्ने उनले बताए ।

लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि चितवन प्रशासन आफै एक्सनमा उत्रिन लागेको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले लागुऔषधको कारोबारीलाई शुन्य सहनशीलताको नीति अपनाई कारबाही गर्ने र लागुऔषधको सेवनकर्तालाई परिवारमा पुर्नस्थापना समत गर्न यो अभियानले ठोस योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘भावी दिनमा लागुऔषधको थप भयाबह अवस्थाबाट जोगिन हामीले समयमै महाअभियान सुरु गर्न लागेका हौँ,’ सीडीयो थापाले भने, ‘लागुऔषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै सरोकारवालको प्रभावकारी समन्वयबाट मात्र नियन्त्रण गर्न सम्भव विषय भएकाले हामीले महाअभियान सुरु गरेका हौँ ।’ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सहायक प्रजिअ चिरञ्जीवी शर्माले अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।
विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन चितवन प्रहरी प्रमुख (एसपी) भावेश रिमालले अपिल गरे । ‘लागुऔषध नियन्त्रणका लागि अभियानकै रुपमा प्रहरी पनि नयाँ ढंगले परिचालन हुन्छ’ चितवन प्रहरी प्रमुख (एसपी) भावेश रिमालले भने, ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियान हुनेछ ।’

पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार जिल्लामा १८ देखि २५ वर्ष उमेरका सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको देखिएको छ । त्यस्तै २६ देखि ३५ वर्ष उमेरका ३५ प्रतिशत रहेका छन् । यसमध्ये सबैभन्दा बढी ६० प्रतिशत ज्याला मजदुरी गर्ने लागूऔषध सेवनकर्ता रहेका छन् । जिल्लामा लागुऔषध दुव्र्यवसनीहरुको संख्या प्रत्येक बढ्दो क्रममा रहेको छ । चितवनको बाटो हुँदै देशका विभिन्न ठाउँमा लागुऔषध ओसारपसार पनि हुँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>