चितवन विशेष

शिक्षक महासंघ चितवनमा एकलौटी भएको भन्दै राष्ट्रिय शिक्षक संगठनको विरोध

Banner

चितवन, वैशाख ११ –

नेपाल शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति घोषणा भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले विरोध जनाएको छ ।

संगठनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अवैधानिक तरिकाले महासंघ चितवनको अधिवेशन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो ।

शिक्षक महासंघ चितवनको यही वैशाख ८ गते अधिवेशन भइ अधिवेशनले उपस्थित शिक्षकको सहमतिबाट नयाँ समिति चयन गरेको छ ।
उक्त अधिवेशनका लागि प्रक्रिया नपुगेको भनि नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले असहमति जनाउँदै अधिवेशन नै बहिस्कार गरेको थियो । शिक्षकको सबैभन्दा पूरानो र दोस्रो ठूलो शैक्षिक घटकको असहमतिका बाबजुत पनि एकलौटी रुपमा तत्कालीन नेतृत्वले अधिवेशन गरी समिति चयन गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष तेजेन्द्रप्रसाद भुषाल र सचिव तिलक कुँवरद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै संगठनले अधिवेशनप्रति आपत्ति प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघको विधान एवम् मिति २०८० माघ २९ गतेको परिपत्र बमोजिम क्रमशः स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन गर्नुपर्ने प्रावधानलाई लत्याउँदै आफ्ना महत्वकांक्षा पूरा गर्ने हेतुले मिति २०८१ वैशाख ८ गते नेपाल शिक्षक महासंघमा आवद्ध प्रमुख पेसागत घटक संस्था, नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवनको लिखित असहमति र संलग्नता बिना कथित नेपाल शिक्षक महासंघ घोषणा सभाको नाम दिएर अवैधानिक तरिकाले जिल्ला समिति घोषणा गरिएको जानकारी सामाजिक सञ्जालमार्फत् प्राप्त भएको छ । आम चितवनबासी न्यायप्रेमी, शिक्षक, विद्यालय कर्मचारीको पेसागत हकहित, अधिकार र सुरक्षाको उद्देश्यलाई लत्याई निहित पदीय स्वार्थ र संर्किणताबाट प्रेरित यस्तो कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विभिन्न कारणहरु प्रस्तुत गर्दै शिक्षक संगठनले महासंघको जिल्ला अधिवेशन अवैध रहेको ठहर गरेको छ । संगठनले प्रस्तुत गरेका कारणहरुमा वर्तमान अवस्थामा पालिकागत रुपमा सदस्यहरुको नामावली विवरण संकलन र प्रमाणीकरण नगरिएको उल्लेख छ । त्यस्तै जिल्ला अधिवेशनको लागि पालिकागत रुपमा जिल्ला अधिवेशन प्रतिनिधिको छनौट एवम् समावेश नगरिएको जनाइएको छ ।
त्यसैगरी अघिल्लो कार्यसमितिको सांगठनिक र आर्थिक प्रतिवेदनको प्रस्तुति, छलफल र अनुमोदन नगरिएकाले अधिवेशन अवैध भएको भन्दै शिक्षक संगठनले विरोध जनाएको हो । यी कारणहरु देखाउँदै शिक्षक संगठनले उक्त अधिवेशनलाई कथित अधिवेशन र नयाँ समितिलाई अवैधानिक भनेको छ ।

‘आगामी दिनमा वार्ता र संवाद मार्फत प्रारम्भिक चरणबाट विधिवत प्रक्रिया सुरु गर्न संगठनले माग गरेको छ । साथै स्वेच्छाचारी ढंगमा स्वघोषणा गरिएको जिल्ला समितिलाई वैधानिकता नदिनको लागि सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण संगठनले गराएको छ । सबै शिक्षक र विद्यालय कर्मचारीको साझा छाता संस्थाको रुपमा महासंघलाई विकास गरी सबैको अपनत्व हुने मर्मलाई ध्यानमा राखी अघि बढ्न संगठनले माग गरेको छ ।

सहज तवरबाट समस्याको समाधान नभए आफूहरु न्यायिक प्रक्रियाका लागि अदालतको ढोका ढकढकाउन पुग्ने संगठनले पत्रकार सम्मेलनमा जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>