चितवन विशेष

नदीलाई साक्षी राखेर नारायणी किनारमा मोमिलाको नयाँ निबन्ध कृतिमाथि अन्तरक्रिया हुने

Banner

चितवन, वैशाख ९-

कवि तथा निबन्धकार मोमिलाको नवीनतम निबन्धकृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ बारे चितवन र नवलपुरमा अन्तरक्रिया हुने भएको छ ।

हालसालै सार्वजनिक गरिएको निबन्धकृति माथि प्रकाशक पेज टर्नरले वैशाख १५ गते गैँडाकोटको नारायणी रिसोर्टमा अन्तरक्रिया गर्न लागेको हो ।

चितवन र नवलपुर क्षेत्रका पाठक, कवि, लेखक, पत्रकार र साहित्यकारको माझमा नारायणी नदीलाई साक्षी राखेर मोमिलाको बाँकी प्रश्नहरुबारे अन्तरिक्रया हुने जनाइएको छ ।

लालित्यपूर्ण भाषाको प्रयोग गरी व्यक्तिगत स्वतन्त्रताको वकालत गर्ने मोमिलाको यो दोस्रो निबन्ध सङ्ग्रह हो । नेपाल कला साहित्य डट कम प्रतिष्ठानकी केन्द्रीय व्यक्तित्व मोमिलाको यसअघि ‘ईश्वरको अदालतमा आउट साइडरको बयान’ निबन्ध सङ्ग्रह सार्वजनिक भएको थियो । त्यस्तै उनका पाँच वटा कविता सङ्ग्रह प्रकाशित छन् । जसमा ‘पैयुँ फुल्न थालेपछि’, ‘नीलो नीलो आकाश र दुई थोपा आँशु’, ‘जूनकीरीहरु ओर्लिरहेछन्’, ‘दुर्गम उचाइमा फूलको आँधी’ तथा ‘भीमसेन थापाको सुसाइड नोट’ रहेका छन् ।

अक्षर समूहका संस्थापक अध्यक्ष कवि भूपिनले जीवन दर्शनको गहिराई पक्रिन सफल  लेखिका मोमिलाबारे चितवनमा अन्तरक्रिया हुनु गौरवको विषय भएको बताए । उनले भने, ‘अस्तित्ववादी निबन्ध मार्फत् मोमिलाले एक किसिमको जीवन दर्शन निर्माण गरेकी छन् । उनको कृतिमाथिको छलफल एउटा निबन्ध उत्सव नै हो ।’

काठमाडौँमा चैतमा भएको निबन्ध सङ्ग्रह सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बनेका चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीले समकालिन नेपाली साहित्यको इतिहासमा मोमिलाका निबन्धको छुट्टै विशेषता र अस्तित्व रहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>