समाचार
‘प्रेमी’ले गोप्य भिडिओ भाइरल बनाएपछि…
बैतडी,चैत १६-
बैतडीको दोगडाकेदार गाउँपालिका–२ पातलीकी १६ वर्षीया पशुपति महरा गत आइतबार बिहान मृत भेटिइन्। पशुपति घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
पशुपति घरमा आमा र भाइसँग बस्थिन्। बुवा कामको सिलसिलामा भारतमा थिए। छोरीको दुःखद् घटनापछि हाल उनको बुवा घर फर्किसकेका छन्।
पशुपतिलाई गुमाउँदा महरा परिवार विक्षिप्त छ। पशुपति कफलकोटस्थित रौलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्थिन्।
प्रकाश बलायर नामका युवकसँग उनी ‘प्रेम सम्बध’मा थिइन्। यसबारे पशुपतिको परिवारलाई भने जानकारी थिएन। उनीहरूले एकआपसमा फेसबुकको पासवर्डसमेत साटासाट गरेका थिए। फेसबुक म्यासेन्जरमा उनीहरूबीच कुराकानी भइरहन्थ्यो। मायामा चुर्लम्म डुबेकी पशुपतिलाई ललाईफकाई भिडिओ कलमा नग्न हुन बाध्य पारिन्छ। त्यस्ता भिडिओ र तस्बिर फेला परेका छन्।
पशुपतिका ती गोप्य भिडिओ र तस्बिर फेसबुक म्यासेजर ग्रुपमा पठाइयो। बेइज्जत भएपछि पशुपति आत्महत्याको बाटो रोज्न बाध्य भएको पारिवारिक स्रोत बताउँछ। ‘ऊ सोझी थिई। सम्बन्धका बारेमा घरमा थाहा थिएन। राति फोन गर्ने रहेछ,’ पारिवारिक स्रोत भन्छ, ‘शनिबार बेलुका ६ बजेतिर भिडिओ ग्रुपमा पठाएको रहेछ। त्यसपछि समाजमा बेइज्जती हुन्छ भनेर राति नै अप्रिय निर्णय लिएको देखिन्छ।’
पशुपतिको कोठामा भेटिएको कापीमा ‘प्रकाश बलायर र उनको पासवर्ड’ लेखिएको पाइएको छ। यस्तै पशुपतिले आत्महत्या गर्नुअघि दुई पाना लामो सन्देश छाडेकी छन्। उनको कोठामा पाइएको उक्त सन्देशमा परिवारका सदस्य र इष्टमित्रलाई सम्झदै क्षमा मागेकी छन्। आत्महत्याको कारण भने खुलाएकी छैनन्। पीडित परिवारले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका गोप्य ‘भिडिओका स्क्रिन सट’लगायत सम्पूर्ण विवरण प्रहरीलाई बुझाएको छ।