चितवन विशेष

निरन्तरको झरीले चितवनमा तरकारीको व्यापार सुस्तायो,मूल्य निरन्तर ओरालो लाग्दै

Banner

चितवन, पुस २४-

चितवनमा हिजोबाट परेको निरन्तरको झरीले तरकारीको व्यापार ओरालो लागेको छ ।

नारायणगढको प्रमुख तरकारी बजार र सडक आसपासमा तरकारी किन्ने ग्राहकहरु घटेको व्यवसायीहरुले बताएका छन् । तरकारी तथा फलफूल व्यवसायी रामराज पाण्डेले झरीले गर्दा मानिसहरुले सुप तथा गहत जस्ता झोलिलो कुरा खोज्ने भएकोले व्यापार घटेको बताए । बिहीबार बिहानदेखि नै क्षेत्रपुरको फलफूल तथा तरकारी थोक बजार लगभग सुनसान नै रहेको उनले बताए । उनले भने, ‘ झरीले बढेको चिसोमा ग्राहकले नै तरकारी किन्नमा खासै चासो देखाएका छैनन् । मासु पसलमा बढी भीड लागेको देखिन्छ ।’ लायन्सचोकमा तरकारी पसलमा पनि ग्रहक पातलिएको व्यवसायीले बताएका छन् ।

बसेनी क्षेत्रमा साइकलमा तरकारी बेच्ने भारत बिहारका हरिकृष्ण यादवले पनि चिसोले आफ्नो व्यापार घटेको बताए । उनले भने, ‘घाम लागेको बेला दिनको सात तथा आठ हजार कमाइ हुने गरेकोमा आज एक हजारको व्यापार गर्न पनि धौंधौं परेको छ ।’ झरीले तरकारीको मूल्यमा पनि व्यापक गिरावट आएको व्यवसायीले बताएका छन् । केही दिनअघि प्रति किलो ८० रुपैयाँसम्म रहेको काउली अहिले घटेर ३५ रुपैयाँमा झरेको व्यवसायी पाण्डेले बताए । त्यस्तै बन्दा ३० रुपैयाँ, भेडे खुर्सानी ५० रुपैयाँ, भारतीय गोलभेँडा प्रतिकिलो ३५ रुपैयाँ र करेला ९० रुपैयाँमा आज व्यापार भइरहेको छ । अघिल्लो दिनको तुलनामा धेरै सस्तोमा तरकारी व्यापार भइरहेको पाण्डेले बताए ।

त्यसैगरी चितवनको बजारमा केही समयअघि २५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो । भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ । आजको मूल्य सूचीअनुसार चितवनमा औसतमा ११५ रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको व्यापारी यादवले बताए । भारतीय बजारमा प्याजको मूल्य कम भएकाले त्यसको असर चितवनको बजारमा पनि देखिएको छ। ‘

भारतमा एक महिनाअघि मात्रै प्रतिकेजी १५० भारु रहेको प्याज अहिले ७० भारुमा झरेको व्यवसायीले बताएका छन् । एसियाकै सबभन्दा बढी प्याजको उत्पादन हुने नासिक, गुजरात तथा राजस्थानमा नयाँ प्याजको उत्पादन भएको छ । भारतीय सञ्चार माध्यमकाअनुसार यी ठाउँबाट प्याजको आपूर्ति दुई गुणासम्मले बढेको छ। सञ्चार माध्यमहरूले थोक प्याजको मूल्य केही दिनमै ३० भारुसम्म पुग्नसक्ने बताएका छन् । चितवनमा मूल्य घट्ने शंकाले किसानहरू प्याज बेच्न हतार गरिरहेको व्यवसायी यादवले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>