चितवन विशेष

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह सुरु,प्लेकार्ड सहित र्‍याली र सडकनाटक

Banner

चितवन, पुस २३-

कृषि क्षेत्रमा विषादीको अत्यधिक प्रयोग नियन्त्रणका लागि चेतना फैलाउन आजबाट चितवनमा विषादी प्रयोगमुक्त सप्ताह सुरु भएको छ । ‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराका साथ आजबाट २९ गतेसम्म विषादी प्रयोग मुक्त सप्ताह–२०७६ मनाउन लागिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, प्रदेश नं. ३ को बाली संरक्षण प्रयोगशाला ललितपुर र कृषि ज्ञान केन्द्र चितवनको संयुक्त आयोजनामा जिल्लामा प्रभात फेरीसहित सभाको आयोजना गरी विषादी प्रयोगमुक्त सप्ताहको सुरुवात गरिएको हो ।

सप्ताहको उद्घाटन गर्दै प्रदेश नम्बर तीनका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले जनतालाई निरोगी बनाउने अभियानलाई किसानको तहसम्म पु¥याउनुपर्ने बताएका छन् । उनले एक साता मात्र यस्ता अभियान सञ्चालन गरेर नहुँने भन्दै विषादीमुक्त बनाउनका लागि दैनिक रुपमा लाग्नुपर्ने धारणा राखे । उनले विषादीको विकल्पमा अर्गानिक उत्पादनलाई जोड दिन आग्रह समेत गरे ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापनका अनुसार नेपालमा २४ प्रकारका घातक विषादीमा प्रतिबन्ध लगाइसकेको छ । विश्वमा विषादीयुक्त खानेकुराका कारण वार्षिक तीन लाख बढी मानिसको ज्यान जाने गरेको बताइन्छ । खेतबारीमा प्रयोग हुने विषादीले शत्रु जीव मात्रै नभई मित्रु जीवसमेत नाश भई ईको सिस्टम नै प्रभावित हुने गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापनका निमिक्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए । उनका अनुसार नेपालमा सन् १९५२ मा पहिलो पटक मलेरिया नियन्त्रणका लागि भित्रिएको विषादीको प्रयोग अत्याधिक छ । गत आर्थिक वर्षमा ६३५ मेट्रिक टन विषादी आयात भएको थियो । तीमध्ये कीटनाशक २२६ मेट्रिक टन, रोगनाशक २६७, मेट्रिक टन, झारनाशक १४२ मेट्रिक टन र अन्य १४ मेट्रिक टन रहेका छन् । नेपालमा तरकारीबालीमा प्रतिहेक्टर एक हजार ६०५ ग्राम विषादी प्रयोग भइरहेको हुमागाईले जानकारी दिए । नेपालमा जीवनासक विषादी ऐन–२०७६ समेत ल्याइएको छ । यसले केही हदसम्म विषादीको प्रयोगमा न्यूनीकरण गर्न सक्ने उनको भनाइ छ ।

सन् २०१३ देखि नेपालमा विषादी प्रयोग मुक्त सप्ताह मनाउन सुरु गरिएको हो । तर, पनि नेपालमा वार्षिक विषादी आयातका लागि मात्र ८४ करोड रुपैयाँ खर्च भएको छ । अन्य देशको तुलनामा तरकारी बालीमा केहि हदसम्म कम विषादी प्रयोग गरिएको छ भनेता प्रभावकारी तथ्यांक केन्द्रसँग रहेको छैनन् । तरकारी बालीमा करिब ८५ प्रतिशत विषादी प्रयोग हुने गरेको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने विषादीको प्रयोग बडेसँगै विभिन्न प्राणघातक रोगसमेत फैलने गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्की कार्कीले बताए ।

तरकारीमा विषादी आवश्यकता भन्दा बढी प्रयोग भएको छ । क्यान्सर, उच्च रक्तचाप, मृगौला र कलेजोसम्बन्धी समस्या, मधुमेह, नपुंसकता, बाँझोपना, मस्तिष्कमा असर, स्मरणशक्तिमा ह्रास, डिप्रेसनलगायत नसर्ने रोगको एक मुख्य कारण विषादी सेवन रहेको भरतपुर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर गंगा सापकाटाले जानकारी दिए । जसका कारण मस्तिष्क, मुटु र क्यान्सर रोगका विरामीहरु बढ्दै गएको उनले बताए ।

मुलुकमा उत्पादितमध्ये केही स्थानका तरकारीमा मात्र विषादीको मात्राबारे अध्ययन गरिएको छ । तर, विषादीको अवशेषले नेपालीको स्वास्थ्यमा कस्तो प्रभाव गरिरहेको वा गर्न सक्छ भन्नेबारे कुनै अध्ययन छैन । ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रतिवेदनलाई उधृत गर्दै सापकोटाले भने, विषादी सम्भावित रूपले मानव स्वास्थका लागि प्रतिकूल हुनुका साथै दीर्घकालीन प्रभाव गरेको छ ।’ बाली जोगाउनका लागि प्रयोग गरिने औषधिले छाला र स्वासप्रश्वासमा समेत असर गर्ने उनले बताए । स्तनपान गराउने आमाले बढी बिषादी हालेका खानेकुरा खाँदा बालकलाई समेत शारीरिक तथा मानसिक असर पुग्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विषादी न्यूनीकरण सम्बन्धी सचेतनामूलक नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सुरुमा नारायणगढको लायन्सचोकदेखि क्षेत्रपुर हुँदै महानगर तरकारी बजारसम्म विषादी प्रयोगलाई न्यूनीकरण गर्न प्लेकार्डसहित ¥याली निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>