चितवन विशेष
चितवनका नयाँ सीडीओ भट्टराईलाई स्काउटको स्वागत

चितवन, मंसिर २६ –
चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई नेपाल स्काउट चितवनले आज स्वागत गरेको छ । उनी पर्सा जिल्लाबाट चितवन भर्खरै सरुवा भएर आएका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईकै कार्यकक्षमा पुगेर नेपाल स्काउट चितवनका आयुक्त तीर्थराज न्यौपाने नेतृत्वको टोलीले पुष्प गुच्छाबाट स्वागत गरेको हो । टोलीमा स्काउटका सदस्य सचिव रामप्रसाद पोखरेल, परिषद् सदस्य अन्जु रेग्मी सहभागी थिए ।
स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले चितवन स्काउटले बालबालिका र युवाहरुलाई आत्मनिर्भर, नैतिकवान तथा अनुशासित बनाइ राष्ट्रको समुन्नत विकासमा योगदान दिन सक्ने सबल नागरिक तयार गर्न सकोस् भन्ने शुभकामना दिए । उनले चितवन स्काउटलाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिए । सोही अवसरमा जिल्ला आयुक्त न्यौपानेले स्काउटले चितवनमा गरेको विभिन्न गतिविधिको बारेमा प्रमुख जिल्ला अधिकारी भट्टराईलाई अवगत गराएका थिए । जिल्ला स्काउटको सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी रहने प्रावधान रहेको छ ।