चितवन विशेष

माडीमा हुलाकी सडकको काम पुन सुरु, वैशाखसम्म सक्ने निर्माण कम्पनीको दाबी

Banner

प्रिती पोख्रेल

चितवन, मंसिर २२

माडी–ठोरी–भरतपुर सडकखण्ड निर्माण कार्य पुन सुरु भएको छ ।

विसं २०७३ मंसिर ५ गते ठेक्का पाएको आशिष निर्माण कम्पनीले अब भने सडक निर्माण कार्यलाई तीव्रता दिने जनाएको हो । अबको दुई हप्तामा सडक निर्माणका लागि आवश्यक कच्चा पदार्थ उत्पादन थालिने र उत्पादन भइरहँदा नै काम सुरु गरिने आशिष निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रोहित भट्टराईले बताए । यसअघि आफ्नै क्रसर स्थापना गरेर काम थाल्ने बताएको कम्पनीले अब भने माडी नगरपालिकाले स्थापना गरेको क्रसरमा थप मेसिनहरु जडान गरी साढे दुई महिना आवश्यक रहने कच्चा पदार्थ उत्पादन गर्ने भएको छ । कच्चा पदार्थ उत्पादन थालिना साथ सडकमा बिछ्याउने र निर्माण गर्ने काम सुरु हुने उनले जानकारी दिए ।

भट्टराईका अनुसार अहिले क्रसरमा इम्प्याक्टर जडानको काम भइरहेको छ भने आवश्यक अन्य मेसिनरीहरु भित्रिदैँ छन् । कम्पनीले काम समयमै सम्पन्न गर्न चाहेर पनि यसअघि वातावरणीय प्रभाव मूल्याङ्न ईआईए नगरिएको, कहिले निकुञ्जका कारण समस्या देखिनु त कहिले खोलानदीबाट सहजै कच्चा पदार्थ प्रयोग गर्न नपाउनु जस्ता कारणले सम्झौता मिति सकिएको बताउँदै भट्टराईले भने, ‘यी र यस्ता विभिन्न असहज परिस्थितिका कारण काम सम्पन्न गरिसक्नुपर्ने मिति नाघ्यो अब काम द्रुत गतिमा हुन्छ, माडीबासी ठुक्क रहनुस् ।’ आफ्नो जिम्मेवारी समयमा पूरा नहुँदा स्थानीय नगरबासीलाई बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने अवस्थाप्रति निर्माण कम्पनीको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ । ‘धुलो खाँदै यात्रा गर्दा स्थानीय आक्रोशित छन्, असहज छ, हामीलाई थाहा छ ,त्यसैले आशिष कन्ट्रक्सनले काम सुरु नभउन्जेल ट्यांकर लगाएर बाटोमा पानी छर्किरहेको छ’ उनले भने ।

माडी–ठोरी–भरतपुर सडकखण्ड विसं २०७५ वैशाख ४ गते निमार्ण गरिसक्नुपर्ने गरी २०७३ मंसिर ५ गते ठेक्का सम्झौता गरिएको थियो । यस मितिमा निर्माण सम्पन्न त परको कुरा कम्पनीले सुरु सम्म गर्न नसकेपछि विसं २०७७ साल जेठ २२ गते सम्म सक्ने भनी म्याद थप माग गरिएकोमा स्वीकृती प्रदान गरिएको सडक डिभिजन कार्यलय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले बताए । अब अन्य पक्षबाट कुनै रोकावट नभए २०७७ वैशाखसम्म मै सबै काम पूरा हुने ठेकेदार पक्षको दाबी छ ।

यता,मुख्य सडक सीघ्र निर्माणका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताए । ‘दुई ढाई महिनाको लागि नगरपालिकाको क्रसरको ठेकेदार पक्षलाई आवश्यक ढुङ्गागिट्टी उत्पादनलाई दिएका छौँ, केही दिनमै उत्पादनको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्’ उनले भने । नगरप्रमुख ढकालका अनुसार निकुञ्जद्वारा वार्षिक २५ हजार घनमिटर नदीजन्य ढुङ्गा, बालुवा निकाल्न अनुमति छ तर माडी ठोरी सडक निर्माणमा ६७ हजार घनमिटर गिट्टी आवश्यक हुन्छ । ‘यस्तै विभिन्न बाध्यात्मक कारण छन् ढिलाइ हुनुमा’ उनको भनाइ छ । सडकखण्डअन्तर्गत बिग्रिएको पुरानो कालो पत्रे भने यसअघि नै भत्काई ग्राबेल गरेको छ । सडक निर्माणमा भएको ढिलाइका कारण धुलोखान बाध्य भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गर्ने गरेका छन् । ठेकेदारको यस आश्वासन पश्चात अब छिट्टै यस सडकखण्डबाट सहज यात्रा गर्न पाउने आशा स्थानीयमा जागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>