चितवन विशेष
पदको दुरुपयोग गरेर एक रुपैंया पनि कमाउने छैनः स्वास्थ्यमन्त्री ढकाल

चितवन,मंसिर १५-
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको अनियमितता अन्त्य गर्ने बताउनुभएको छ । आज भरतपुर अस्पतालको निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले अनियमितता रोकेर नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिनेतर्फ ध्यान केन्द्रित गरेको बताउनुभयो ।
उहाँले भन्नभुयो,‘ केही अस्पतालले आवश्यकता भन्दापनि कमिसनको लोभमा काम गर्ने गरेको सुनेको छु,आगामी दिनमा यस्ता रकम जनताको सेवामा लगाउने सोचमा छु ।’ जनतालाई निःशुल्क औषधि उपलब्ध गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो । मन्त्री ढकालले चिकित्सक, नर्स र कर्मचारीको सेवा बृद्धि गर्दै जनतालाई सुविधा दिनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो ।
‘राजनिति गरुन्जेल र सार्वजनिक पद धारणा गरुन्जेल पदको दुरुपयोग गरेर एक रुपैंया पनि कमाउन हुन्न भन्ने कुरामा म प्रतिबद्ध छु, उहाँले भन्नुभयो,अनियमिततामा अरुलाई पनि छुट दिने छैन् ।’ उहाँले सेवा भावमा काम गर्ने जुनसुकै आस्था बोकेका संगपनि सहकार्य गर्न तयार रहेको बताउनुभयो । निजी स्वार्थ केन्द्रमा राखेर काम गर्नेहरुसंगै कहिल्यै सहकार्य नगर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘संस्थागत सुधारका लागि आलोचना गर्नुहोस,मन्त्री ढकालले भन्नुभयो,म कुनै आग्रह पूर्वाग्रह राख्दैन् ।’
उहाँले प्राथमिकताका आधारमा अस्पतालको सेवासुविधा प्रदान गरिने जानकारी दिनुभयो । अस्पताल विकास समिति र कर्मचारी समायोजनको काम छिट्टै टुङगोमा पु¥याउने उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा राजनिति नगर्न उहाँले चिकित्सक र कर्मचारीलाई आग्रह गर्नुभयो । सरकारी अस्पतालले व्यवस्थापनको पाटोलाई विशेष ध्यान दिनुपर्ने उहाँको जोड थियो ।
चिकित्सक अस्पताल भित्र र निजामती कर्मचारी मन्त्रालय आउँदा आस्थाका आधारमा सेवालाई विटुल्याउन नहुने उहाँको तर्क छ । प्रारम्भिक चरणमा देशका सवै अस्पतालको अवस्था बुझ्ने र त्यसपछि दु्रत रुपमा काम गर्ने मन्त्री ढकालले प्रतिबद्धता जनाउनुभयो । मन्त्री ढकालले भरतपुर अस्पतालमा निर्माणाधिन भवन निर्माणका लागि आवश्यक रकम र आवश्यक दरबन्दी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
अस्पताल निरीक्षणका क्रममा मन्त्री ढकाललाई भरतपुर अस्पतालको वर्तमान अवस्थाका बारेमा मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी गराउनुभएको थियो । सो अवसरमा प्रदेश सभा सदस्य विजय सुवेदी,नेकपाका नेता काँसिनाथ अधिकारी,देवी ज्ञवाली,नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम न्यौपाने ,अस्पतालका चिकित्सक,कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।