देश/प्रदेश
काठमाडौँमा ब्राउनसुगरसहित दुई पक्राउ

काठमाडौँ, भदौं १०-
प्रहरीले कागेश्वरी–मनहरा नगरपालिका–७ बाट आज लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–८ का २७ वर्षीय अनिल बोहोरा र सोही ठाउँका ३२ वर्षीय विनोद बोहरा छन् । महानगरीय प्रहरी प्रभाग काँडाघारीको टोलीले जाँच गर्ने क्रममा उनीहरुका साथबाट लागूऔषध बरामद गरेको हो । यसैबीच बैंकिङ कसुर मुद्दाका फरार काठमाडौँ तारकेश्वर नगरपालिका–११ का ५५ वर्षीय प्रभातविक्रम थापालाई पक्राउ गरी जेल चलान गरिएको छ । सो मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु आठ लाख ५० हजार जरिवाना गरिएको थियो । फरार रहेका थापालाई गल्कोपाखाबाट पक्राउ गरी सोमबार काठमाडौँ जिल्ला अदालत समक्ष पेस गरिएको थियो । अदालतको आदेशअनुसार थापालाई कैद भुक्तानीका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । रासस