चितवन विशेष

१७ वर्षपछि चिटिक्क बन्यो भरतपुर कभर्ड हल (तस्वीरमा)

Banner

चितवन, साउन २७-

लामो समयपछि भरतपुर कभर्ड हलको मुहार फेरिएको छ । निर्माण सुरु भएको मितिले झण्डै १७ बर्षपछि प्रदेश सरकारको बजेटले कभर्डहल चिटिक्क बनेको हो । चितवनका नागरिकबाट उठाइएको करबाट विसं २०५९ सालमा भरतपुरको मुटुमा रहेको गेष्टहाउस चौरको पूर्वतिर कभर्ड हल निर्माण भएको थियो । चितवनमा पहिलो पटक मोवाइल सिमकार्ड वितरण गर्दा प्रत्येकबाट ५ सय रुपैंया संकलन गरेर कभर्डहल निर्माण गरिएको हो ।

स्थानीय निर्वाचनमा मतपत्र च्यातिएपछि चर्चामा आएको कभर्डहलले खेलाडीको मन जित्न भने सकेन । कभर्ड हलमा खानेपानी र ट्वाइलेटको समेत उचित प्रवन्ध थिएन । रंगरोगन र सरसफाइ नहुँदा कभर्ड हल अलपत्र परेको थियो ।

चितवनका प्रदेश सांसद विजय सुवेदीले आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट कभर्डहलका लागि छुट्टाएपछि कभर्डहलको मुहार फेरिएको छ । उनले आफ्नो निर्वाचन क्षेत्रमा प्राथमिकताको योजनाका रुपमा राखेर कभर्डहललाई पूर्णता दिएका हुन् । ‘हरेक वडामा एउटा सुविधासम्पन्न कभर्डहल आवश्यक छ,सांसद सुवेदीले भने,लामो समयदेखि अधुरो रहेको कभर्डहललाई यसबर्ष पूर्णता दिइएको हो । उनले खेलकुद क्षेत्रको विकासका लागि पहिला प्राथमिकतामा पूर्वाधार निर्माण रहेको बताए । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत भरतपुरको कभर्डहलको पूर्णतासंगै मंललपुरमा पनि निर्माण सुरु गरिएको सुवेदीले जानकारी दिए । उनले यसैबर्ष कृष्णपुरमा पनि आकर्षक खेलमैदान निर्माण गरिएको बताए ।

जिल्ला खेलकुद समितिका पूर्वअध्यक्ष गंगा लामाले आफ्नो कार्यकालको अन्तिम समयमा कभर्ड हलको पुननिर्माण गर्न सफल भएको बताए । उनले भने, प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँ बजेटबाट ३५ लाख रुपैयाँमा भरतपुर कभर्ड हल र १५ लाख रुपैयाँमा भरतपुर आनन्दपुरको कभर्ड हल मर्मत गरिएको छ ।’ पुननिर्माणले कभर्ड हलमा खानेपानीको राम्रो प्रवन्ध हुनाको साथै नेटजाली, फलामको डस्टबिन, कुर्ची टेबल, ट्वाइलेट, डस्टबिन, वाल र भित्ताहरुमा रंगारोगन र खानेपानीको प्रवन्ध गरिएको छ ।

पूर्वअध्यक्ष लामाले बिहान पाँच बजेदेखि बेलुका साढे सात बजेसम्म हुने खेलमा कर्भ हलमा दैनिक झण्डै एक हजार जना खेलाडीहरु सहभागी हुने गरेको बताए । उनले भने, ‘कभर्ड हल चितवन जिल्लाको बहुमूल्य सम्पत्तिको अहिले १० करोड खर्च गर्दा पनि यस्तो कभर्ड हल बन्न सक्दैन ।’ कभर्ड हलको पुननिर्माण त भयो तर चारैतिरबाट दमकल छिर्न सक्ने गरी भौतिक संरचनाहरुको निर्माण हुन सकेको छैन । कभर्ड हलको छेउमा भाडामा दिइएका सटरहरु रहेकोले पनि वरिपरी दमकल छिर्ने गरी संरचना निर्माण गर्न नसकिएको पूर्वअध्यक्ष लामाले जानकारी दिए । उनले यो सबै काम हुनुमा प्रदेश सांसद विजय सुवेदीको पहलले महत्वपूर्ण भूमिका खेलेको विचार राखे ।

भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डारीले कवर्डहलको पूर्णताले खेलाडीमा उत्साहा जागेको बताए । उनले कवर्डहलको व्यवस्थापनलाई वडाले विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।

भरतपुर महानगरपालिका–११ को मृगकुञ्ज टोलबाट कभर्ड हलमा दैनिक खेल खेल्न आउने कमल भण्डारीले कभर्ड हलको नयाँ र आधुनिक बनेकोले पनि खेल्न निकै आनन्द आएको बताए । लेउ लागेको भित्ता र झार उम्रिएको कोठामा खेल खेल्दा मनमा बिरक्त लागेर आउने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>