Uncategorized
प्रधानमन्त्रीले जनतालाई होच्याएको हो, कांग्रेस टुलुटुलु हेरेर बस्दैन: प्रकाशमान सिंह

१८ वैशाख, हेटाैंडा
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय शब्द बोलेर विपक्षीलाई होच्याएको बताएका छन्।
सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मंगलबार ‘निम्छरो’ शब्द प्रयोग गरेकोमा उनले विपक्षी सांसदलाई मात्रै नभएर प्रधानमन्त्रीले जनतालाई होच्याएको दाबी गरे।
‘प्रधानमन्त्रीले गैरसंसदीय शब्दावली प्रयोग गर्ने?,’ काठमाडौंमा बुधबार राष्ट्रिय जागरण अभियानमा आयोजित कार्यक्रममा उनले भने, ‘विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउने हो। पदमा छु भनेर होच्याउन पाइँदैन।’
प्रधानमन्त्रीले शक्ति केन्द्रीकृत गरेर संविधान मिच्दै गएको उनले बताए। ‘संविधान मिच्दै जाने हो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘कांग्रेस जेल जान तर्संदैन। ज्यान दिन्छ।’
सत्तापक्षसँग लड्न बलियो संगठन भएको पार्टी चाहिने उनले बताए। कांग्रेस नेतृत्व निरंकुश हुन नमिल्ने उनको भनाइ छ।
‘आफ्नो सोचाइ र कार्यशैलीमा परिवर्तन ल्याउनुर्छ,’ उनले भने, ‘नेतृत्वले ठूलो छाती बनाएर सबैलाई समेटेर काम गर्नुपर्छ।’