प्रदेश १

मुख्यमन्त्रीले लिए मीनालाई पढाउने जिम्मा, पोखरा महानगरको

Banner

२५ वैशाख, पोखरा

पोखरा महानगरको ल्यान्डफिल्ड साइटमा काम गर्दै अध्ययनखर्च जुटाइरहेकी मीना घर्तीमगरको सम्पूर्ण पढाइ खर्च गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्येहोर्ने भएका छन् । मुख्यमन्त्री गुरुङले बुधबार आफ्नै निवासमा डाकेर मीनाको सम्पूर्ण खर्च ब्यहोर्ने बताएका हुन् ।

वैशाख १८ गते विश्व श्रमिक मजदुर दिवसका अवसरमा नारी जागरण अभियानले मीनासहित ५ जना श्रमिकलाई सम्मान गरेको थियो । उक्त अवसरमा मुख्यमन्त्री गुरुङले कालिका सेकेन्डरी स्कुलमा कक्षा ११ मा विज्ञान विषय पढिरहेकी मीनाको १२ कक्षासम्मको पढाइ खर्च व्यहोर्ने आश्वासन दिएका थिए ।

‘सुरुमा १२ सम्मको मात्रै पढाइ खर्च मुख्यमन्त्रीले व्यहोर्ने भन्नुभएको थियो । तर मीनाको पारिवारिक स्थितिबारे बुझेपछि जुनसुकै विषय, जहाँसम्म पढे पनि व्यहोर्ने हुनुभयो,’ जागरण अभियानकी संयोजक अञ्जु क्षेत्रीले भनिन् ।

यो पनि पढ्नुहोस
बिहान विज्ञान पढ्ने, दिनभरि फोहोर केलाउने
मीना घर्तीमगर महानगरको ३ वर्षदेखि ल्यान्डफिल्ड साइटमा काम गर्दै आएकी छिन् । उनले त्यहाँ फोहोर छुट्याउने काम गर्छिन् । उनी त्यस कामबाट दैनिक ४÷५ सय कमाइ हुने बताउँछिन् । ‘मेरो ३ जना भाइ बहिनी छन् । ७ जनाको परिवारलाई यही फोहोर बटुलेरै जीवन चलाइराछौं,’ उनी भन्छिन् ।

‘सधैं त्यही काम नगर्नुपरे हुन्थ्यो’ भन्ने मीनाको चाहना हो । फोहोरको दलदलबाट निस्केर प्रतिष्ठित जीवन बाँच्ने उनको उद्देश्य छ । ‘त्यही भएर पढ्दैछु । परिवार वर्षौंदेखि यही फोहोर केलाउँदै हुर्कियो । अब म पढेर परिवारका लागि केही गर्छु,’ उनी सुनाउँछिन् ।

श्रमिक दिवसमा १२ सम्ममात्रै पढाइ खर्च व्यहोरिदिने घोषणा गरेका मुख्यमन्त्रीले ‘जति पढेपनि, जे पढेपनि’ सबै व्यहोरिदिने भनेपछि मख्ख छिन्, मीना । ‘सोचेकै थिइनँ । मलाई त कस्तो गर्विलो महसुस भइराको छ,’ उनी सुनाउँछिन् ।

कक्षा ११ को अन्तिम परीक्षा नजिक आइराखेको र अहिले आफू त्यसैको तयारी गरिरहेको उनी बताउँछिन् । ‘अब भविष्यमा जे पढे पनि पढ्न सक्छु भन्ने आँत मुख्यमन्त्रीले दिनुभएको छ । अहिले परीक्षाकै तयारीमा छु । पछि के पढ्ने र के बन्ने त्यसपछिमात्रै सोच्ने छु,’ उनले योजना सुनाइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>