देश/प्रदेश

पानीको मुहान माथिबाट चुनढुङ्गा उत्खनन खानेपानीको सट्टा ‘लेदो’

Banner

लमही– दाङको सोनापुर सिमेन्टका कारण खानेपानीमा लेदो आउने गरेको छ । आकासबाट पानी परेको समयमा उपभोक्ताको धारामा लेदोसहितको पानी जाने गरेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमले बताए ।

“एक हप्ताअघि पानी पर्दा पनि लेदो आएको थियो, बर्षात्को समयमा लेदो मात्रै जान्छ”, उनले भने, “वर्षात्को समय नजिकिँदै गएकाले हामी चिन्तित भएका छौँ ।”

अहिले तुलसीपुरको सोनापुर सिमेन्ट उद्योगले पानीको मुहान माथिबाट चुनढुङ्गा उत्खनन गर्ने र त्यहीमाथिको सडक प्रयोग गरेर चुनढुङ्गा ल्याउन तथा लैजान नियमित टिप्परहरु आवत जावत गर्ने भएकाले यस्तो समस्या देखिएको अध्यक्ष गौतमले बताए ।

यस विषयमा पटक–पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको समेत उनले गुनासो गरे । “केही समयअघि लेदोसहितको पानी बोकेरै सिडिओ कार्यालय पनि पुग्यौँ”, उनले भने, “तर कुनै पनि निकायबाट सुनुवाइ भएन ।” त्यहाँको मुहानको पानी प्रशोधनका लागि प्रविधि जडान गरिएको भए पनि धेरै लेदो भरिँदा त्यसबाट पानी बाहिर पोखिने र त्यही लेदोसहितको पानी मुहान हुँदै उपभोक्ताको घर–घरमा पुग्ने गरेकोे अध्यक्ष गौतमको भनाइ छ ।

विसं २०७० मा सरकारको अनुदानमा करीब रु एक करोड लगानीमा निर्माण भएको उक्त प्रविधिले पनि काम नगर्ने भएपछि थप प्रविधि जडान गर्नुपर्ने उनले बताए । लेदो पस्न नदिन अर्को प्रविधि जडान गर्न यसअघि नै लागत स्टिमेट तयार गरेको समेत उनले जानकारी दिए । “हामीले उक्त प्रविधि जडानका लागि रु ९५ लाख लागत स्टिमेट तयार पारेका छौँ”, उनले भने, “तर यसमा सिमेन्ट उद्योग, सडक, खानेपानी, उपमहानगरपालिले कुनै चासो नदेखाएपछि काम अघि बढ्न सकेको छैन ।”

चुनढुङ्गा उत्खननस्थलसम्म सडक ट्र्याक खोल्दा उत्पन्न भएको ढुङ्गा, माटोजन्य पदार्थले लेदो भरिन थालेको भन्दै यसमा सडक, खानेपानी, तथा उपमहानरपालिका पनि जिम्मेवार हुनुपर्ने उनले बताए । तुलसीपुरको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा अहिले तुलसीपुरका वडा नं १६, १७, १८ र १९ का करीब १७ हजारभन्दा बढी नागरिकलाई पानी खुवाइँदै आएको छ । संस्थाका अध्यक्ष गौतमका अनुसार तीन हजारभन्दा बढी घरमध्ये निजी, सार्वजनिक, संस्थागत गरी एक हजार दुई सयभन्दा बढी धाराबाट पानी वितरण गरिएको छ ।

“सिमेन्ट उद्योगलाई पनि चुनढुङ्गा चाहिन्छ, तर पानीलाई पनि चुनढुङ्गा चाहिन्छ”, उनले भने, “विज्ञहरुले पनि माथिको चुनढुङ्गा उत्खननले पानीको मुहान सुक्न सक्ने बताउँदै आएका छन् ।” तीनवटा मुहानबाट पानी आइरहेको उक्त संस्थाका दुईवटा मुहान सुकेमा उपभोक्तालाई कसरी पानी पुर्‍याउने भन्ने चिन्ता रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>