विचार/ब्लग

मकवानपुरमा भएको संगीत र साहित्यको एउटा अविस्मरणीय कार्यक्रम

अनुभूति:

Banner

एलबी क्षेत्री

२०७८ सालमा संगीतकार दिपक जंगमलाई ‘बिजुली माया वनः श्रेष्ठ’ अन्तर्राष्ट्रिय संगीत पुरस्कार अर्पण गरिँदा म पनि उपस्थित थिएँ । भनौं प्रमुख अतिथि नै थिएँ । यस वर्षको यो पुरस्कार वरिष्ठ कवि गीतकार राजेन्द्र थापालाई अर्पण गरिँदा पनि म आमन्त्रित थिएँ । म सहर्ष पुगेको थिएँ ।

कुनै पनि कार्यक्रमको सौन्दर्य कार्यक्रमको उपस्थिति, मञ्च व्यवस्थापन र गतिविधि, सञ्चालन विशेषतामा निर्भर गर्छ । मकवानपुरका सम्मानित व्यक्तित्व विद्वान् केशवलाल श्रेष्ठको अध्यक्षतामा आयोजित र युवा कवि छवी अनित्यद्वारा सञ्चालित यो कार्यक्रम हर मानेमा अविस्मरणीय रह्यो । पाहुनालाई स्वागत देखि मञ्च गतिविधि सबै उत्कृष्ट थियो ।

पुरस्कारका लागि वरिष्ठ गीतकार राजेन्द्र थापाको छनोट उत्कृष्ट निर्णय थियो भने गायिका निशा देसारलाई भीम विराग युवा संगीत पुरस्कारबाट पुरस्कृत गरियो । म उनलाई चिन्दैनथें तर मञ्चमा उनले आफ्नो प्रतिभा देखाइन् र मैले राम्रैसँग चिने । उनी नेपाली संगीत जगतकी एक निखारिएकी गायिका रहिछन् । मैले उनलाई मञ्चमै पुगी बधाई दिने अवसर पाएँ ।
कवि राजेन्द्र थापासँग त फेसबुक सञ्जालमा बारम्बार विमर्श भइरहेकै हुन्छ । उहाँका विचारमा राष्ट्रियताको सुगन्ध भेटिन्छ । उहाँको प्रस्तुतिमा तर्क हुन्छ । तर, एक प्रकारको अठोट पनि हुन्छ । कुनैकुनै सन्दर्भमा हाम्रो बिमति पनि हुन्छ जुन स्वाभाविक हो ।

 

अरुणा लामाले गाएको गीत ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ’। राजेन्द्र थापाको रचना हो भन्ने कसलाई थाहा छैन होला र । अरुणा लामाको भाका राम्रो छ तर शब्द ? जादुई छन् । यो गीतलाई हाम्रो लागि एन्जिला श्रेष्ठले गाएकी थिइन् ।

म संगीतप्रेमी हो तर शब्द प्रेमी बढी हो । ‘पर लैजाऊ फूलहरू बन्द गर गीतहरू’ मा मैले कविता नै खोजेको थिएँ र भेटाएको पनि थिएँ ।

संसार देखि भागुँला
तिमीबाट सक्दिन
आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउँदिन
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउँ छैन ।

यो गीत हाम्रो लागि युनिषा शेर्पाले गाएकी थिइन् ।

बिगत हेर्दा कवि राजेन्द्र थापा नेपाली सेनामा थिए । म भारतीय सेनामा । उहाँ ब्रिगेडियर जनरल म प्यादा । तर साहित्य एउटा यस्तो बाली हो जसले जनरल र प्यादाको फरक छुट्ट्याउदैन । यो बाली रोप्न सक्नु पर्छ तर एक पटक रोपेपछि ठाउँठाउँमा र हरेक वर्ष काट्न पाइन्छ । बिगत जे भए पनि हाम्रो वर्तमानमा दुवै साहित्यसँग जोडिएको छ र हामी मकवानपुरको प्रतिष्ठित संस्था भीम बिराग संगीत कला प्रतिष्ठान नेपालले गरेको कार्यक्रममा हामी दुवै एउटै मञ्चमा थियौं, त्यो हिजोको साँझ । मेरो लागि यो सुखद संयोग थियो ।

साहित्यमा मुर्धन्य व्यक्ति कार्यक्रमका प्रमुख अतिथि आदरणीय नगेन्द्र थापासँगलाई ढोग्न पाएँ । उहाँले यतिमात्र भन्ने भयो – मैले तपाइँको नाम सुनेको छु । मैले यसलाई सुखद आशिषको रूपमा लिएँ ।

आदरणीय केशवलाल श्रेष्ठज्यूको म्यानेजमेन्टलाई सलाम । यस्तो भव्य समारोहका साथ गरिएको कार्यक्रममा एमसीको महत्वपूर्ण भूमिका हुन्छ । छवी अनित्यको कार्यकर्म सञ्चालनलाई मात्र एक शब्द ‘सुपर्ब’ अर्थात् अति उत्तम ।

यो समारोह कार्यक्रममात्र नभएर एउटा कर्म थियो । यस कर्म रूपी कार्यक्रम सबैको काम सराहनीय थियो तर एक जना नभएको भए यो कर्म सम्पन्न हुन् लगभग असम्भव नै थियो । उहाँ हुनुहुन्छ सबैका प्रिय मृदुलभाषी कन्हैया सर । मकवानपुरले भीम विराग गुमायो । मकवानपुरले तुलसी थापा गुमायो तर एक सुन्दर मन प्राप्त गरेको छ – कन्हैया कृष्ण श्रेष्ठ । विशाल हृदयका धनि सिंगो मकवानपुरका एक मानककर्मी, साहित्य, संस्कृति र संगीतप्रेमी आदरणीय कन्हैया सर तपाइँलाई मेरो नमन ।

(लेखक क्षेत्री कवि डाँडा साहित्य समाज चितवनका अध्यक्ष तथा चितवनका अग्रज साहित्यकार हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>