समाज

पण्डित हयगृव दत्त पन्तवारे अनुसन्धान हुने

Banner

चितवन, चैत १५-

पण्डित हयगृव दत्त पन्तको जीवनी, व्यक्तित्व र कृतित्वका सम्वन्धमा धवलागिरी बहुमुखी क्याम्पस बाग्लुङले अनुसन्धान गर्ने भएको छ ।

स्वर्गीय पन्तका कान्छा छोरा यादव प्रसाद पन्तको अध्यक्षतामा बुधवार भरतपुरमा आयोजित एक पारिवारीक समारोहमा धवलागिरी बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको तर्फबाट सहप्राध्यापक डा सुदर्शन सिलवाल र पन्त परिवारका तर्फबाट हुतराज पन्त, लेखराज पन्त र सन्तोष पन्तले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रमका अध्यक्ष तथा त्रिभूवन विश्वविद्यालयका सेवा निवृत्त सहप्राध्यापक यादव प्रसाद पन्तले विंस. २०३२ जेष्ठ शुक्ल चतुर्दशीका दिन देहावसान भएका पिताको वारेमा अनुसन्धान गर्न पहिले देखि नै सोच बनाएको बताए । अनुसन्धानको लागि धवलागिरी बहुमुखी क्याम्पसले सक्रियता देखाएकोमा आभार प्रकट गर्दै उनले अनुसन्धानमा हर तरहले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सहमति पत्रकावारेमा जानकारी गराउँदै सहप्राध्यापक डा सिलवालले त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयमा स्वर्गीय हयगृव पन्तका वारेमा भएको केहि जानकारी र विश्वविद्यालयका विद्धान प्राध्यापकहरुले पन्तको वारेमा गरेको चर्चाले अनुसन्धान गर्न आवश्यक देखेको बताए ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले अनुसन्धान गर्न सुरु गरेको बताउँदै उनले स्वर्गीय हयगृव दत्त पन्तको ज्योतिषीय ज्ञान, आयुर्वेद सम्वन्धि ज्ञान, श्रीमद् भागवत लगायतका धार्मिक सांस्कृतिक ग्रन्थहरुको ज्ञान, विविध कला र साहित्य तथा सोबाट समाजले प्राप्त गरेका उपलब्धीका वारेमा अनुसन्धान गरि करिव एक वर्ष भित्र अनुसन्धान प्रतिवेदन क्याम्पसले परिवारजनलाई उपलब्ध गराउने बताए ।

रमापति वंशका धरोहरको जीवनी र कृतिका सम्वन्धमा अनुसन्धान हुन लागेकोमा खुशी व्यक्त गर्दै स्वर्गीय पन्तका भतिजा हुतराज पन्तले आफुले अनुसन्धान सफल गराउन कुनै कसर बाँकी नराख्ने बताए ।

पण्डित हयगृव दत्त पन्तका नाती तथा भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष लेखराज पन्तले हजुरवुवाको योग्यता, क्षमता र समाजलाई पु¥याएको योगदान बारे आफुले केहि देखेको र धेरै सुनेको बताए । आधिकारीक दस्तावेज नहुँदा आफुलाई चिन्तीत बनाई रहेकोमा अनुसन्धान सुरु हुनु आफैमा महत्वपूर्ण कार्य भएको र आफुले अनुसन्धान प्रतिवेदन प्राप्त भए पछि सो को छपाई गरी समाजमा जानकारी गराउने उनले बताए ।

स्वर्गीय पण्डितका नाती सन्तोष पन्तले विद्धान पुर्खाहरुको जीवनी, व्यक्तित्व र कृतित्वलाई पुस्तान्तरण गर्दै अग्रजहरुको योगदानलाई सम्मान गर्ने समाज निर्माण गर्न अनुसन्धान कोसेढुङ्गा सावित भई भविष्यमा यस्ता अनुसन्धान भईरहन सहयोग पुग्ने बताए । अनुसन्धान प्रतिवेदन र सो पश्चात छपाई हुने पुस्तक समग्र पाठकहरुका लागि पठनिय र संग्रहणीय दस्तावेज हुने कुरामा उनले विश्वास व्यक्त गरे ।

बाग्लुङको साविक मुलपानी गाविस–९ (अहिलेको बाग्लुङ नगरपालिका–७, गैह्रागाउँ, धुँवाखोला)मा विंस. १९५८ भाद्र कृष्ण जन्माष्टमीका दिन पिता वाचस्पती र माता छायाँ कुमारीका जेष्ठ सुपुत्रको रुपमा हयगृव दत्त पन्तले जन्म लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>