गण्डकी

देवघाट ५ सुरक्षित खानेपानीयुक्त वडा घोषित

Banner

देवघाट, पुस १३-

तनहुँ देवघाट गाउँपालिका–५ लाई सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । विभिन्न महत्वपूर्ण १० सूचक पूरा गरेपछि सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।

युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) गोरखाको प्राविधिक सहयोगमा सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो । सुरक्षित खानेपानीयुक्त वडा घोषणा गर्न खुला दिसामुक्त घोषणा, एक घर एक धारा, प्रत्येक घरमा खानेपानीको मिटर जडान र महसुल सङ्कलन, सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मतसम्भार कर्ता, खानेपानी सुरक्षा योजनालगायतका विभिन्न सूचक पूरा गरिएको थापाले बताउनुभयो ।

त्यस्तै खानेपानीमा कोलिफर्म र आर्सेनिक नभएको, समुदायलाई खानेपानी गुणस्तर तालीम, पालिकामा खानेपानी गुणस्तर अनुगमनका लागि कार्यविधि बनाइएको छ । वडा नं– ५ लाई सुरक्षित खानेपानीयुक्त घोषणा गर्नका लागि करीब रु एक करोड खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताउनुभयो । वडा नं– ५ मा १० वटा खानेपानी उपभोक्ता समितिमार्फत सबै वडावासीको घरमा खानेपानीको पाइप पुर्‍याइएको सुवेदीको भनाइ थियो । वडा नं– ५ का एक हजार ४५६ घरधुरीका आठ हजार ८१५ परिवारले सुरक्षित पानी पिउन पाएको सुवेदीले बताउनुभयो ।

आज देवघाटमा आयोजित सुरक्षित खानेपानीयुक्त घोषणा कार्यक्रममा युनिसेफ नेपालका निमित्त राष्ट्रिय प्रतिनिधि डा तमिज अहमदले दिगो विकासका लागि समुदायले पिउने पानी शुद्ध हुनुपर्ने बताउनुभयो । अहमदले पानीको गुणस्तरलाई कायम राख्नका लागि युनिसेफले सधैँ सहयोग गर्ने बताउनुभयो ।

कोस्डर गोरखा खानेपानी गुणस्तर स्रोत व्यक्ति समृद्धि गुरुङले सन् २०१९ को अगष्टमा शुरु भएको परियोजना डिसेम्बर २०१९ मा सकिएको बताउनुभयो । पटक–पटकको अनुगमन र नजिताको मूल्याङ्कन पश्चात सो स्थानको पानी पिउनका लागि पूर्णरूपमा सुरक्षित र गुणस्तर भएपछि मात्रै सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको गुरुङले बताउनुभयो । खानेपानीको मुहान वरिपरी संरक्षणको आवश्यकता, पाइपलाइन फुटेर पानी दूषित हुने जोखिम, रिजर्भ ट्याङ्की वरिपरी सरसफाइको आवश्यकता, धारा सफाइको आवश्यकता देखिएकाले गाउँपालिकाको ध्यानाकर्षण गराइएको गुरुङको भनाइ थियो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>